
_Dinesh Rajak
काठमाडौँ । ग्यास बिक्रेता महासंघ नेपालले नजिकैको बिक्रेतामार्फत सहज रूपमा ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
ग्यास उद्योग तथा विभिन्न स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गर्दा उपभोक्ताले अनावश्यक दुःख पाउनुपरेको भन्दै महासंघले बिक्रेतामार्फत नै ग्यास बिक्री गर्ने व्यवस्था गर्न माग गरेको हो ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले आइतबार जारी गरेको विज्ञप्तिमा बिक्रेतामार्फत बिक्री नगरी उद्योग तथा विभिन्न बिक्री केन्द्रबाट ग्यास वितरण गर्ने निर्णयले ग्यास अभावको समस्या थप जटिल बनेको उल्लेख गरिएको छ।
महासंघले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन नजिकैका बिक्रेतामार्फत बिक्री वितरणको व्यवस्था मिलाउन आग्रह गरेको छ। साथै, अहिले ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधानमा केन्द्रित हुन सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराएको छ।
महासंघले उपभोक्ताले ग्यासका लागि लामो दूरीसम्म धाउनुपर्ने र विभिन्न बिक्री केन्द्रमा भीड बढ्ने अवस्थाको अन्त्य गर्न तत्काल प्रभावकारी कदम चाल्नसमेत सरकारसँग आग्रह गरेको छ।