
काठमाडौँ । समान कामका लागि समान ज्याला तथा सेवा-सुविधाको माग गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)मा कार्यरत करार तथा ज्यालादारी कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
पूर्वघोषित आन्दोलनका कार्यक्रमअन्तर्गत देशभरका करिब २ हजार २ सय करार तथा ज्यालादारी कर्मचारीले सोमबारदेखि सीटीइभीटीको केन्द्रीय कार्यालय, सानोठिमी घेराउ गरेका हुन् ।
कर्मचारीहरूले साउन १४ गतेदेखि देशभरका ६७ वटै आङ्गिक शिक्षालयमा विभिन्न चरणमा आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएका थिए । पटक-पटक आफ्ना माग सम्बोधन गर्न आग्रह गर्दा पनि सुनुवाइ नभएपछि केन्द्रीय कार्यालय घेराउ गर्न बाध्य भएको करार तथा ज्यालादारी सङ्घ, केन्द्रीय समितिले जनाएको छ ।
करार तथा ज्यालादारी कर्मचारीहरूले समान प्रकृतिको काम गरे पनि स्थायी कर्मचारीको तुलनामा सेवा-सुविधा र पारिश्रमिकमा विभेद हुँदै आएको उनीहरुको गुनासो छ । उनीहरूले न्यायोचित व्यवस्था गर्दै समान कामका लागि समान ज्याला लागू गर्न माग गरेका छन् ।
त्यसैगरी स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा तथा पेशागत स्थायित्वको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । कर्मचारीका माग वार्ता र संवादमार्फत तत्काल सम्बोधन गर्नुपर्ने र सामाजिक सुरक्षा र पेशागत स्थायित्वको व्यवस्था गर्न माग गरिएको छ ।