
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले साहित्यकार मञ्जिला अनिलद्वारा लिखित महाकवि लक्ष्मीप्रसाद देवकोटामा आधारित महाकाव्य ‘बुवाहजुर’ को लोकार्पण गरेको छ ।
भागवत वाचक अजितप्रसाद गौतमको प्रमुख आतिथ्य तथा अनेसास नेपाल च्याप्टरका अध्यक्ष एवं केन्द्रीय कार्यसमिति सदस्य राजेन्द्र केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा मञ्चासीन अतिथिहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए ।
कार्यक्रममा महाकवि देवकोटाका सुपुत्र पदम देवकोटा, त्रिभुवन विश्वविद्यालय नेपाली विभागका पूर्वप्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, अनेसास केन्द्रीय समितिका पूर्वअध्यक्ष राधेश्याम लेकाली, पूर्वसल्लाहकार प्रतीक ढकाल, अनेसास बिओटी सल्लाहकार प्रा.डा. तीर्थ अधिकारी, पूर्वसूचना आयुक्त कमला ओलीलगायतले कृतिमाथि धारणा राखेका थिए । कार्यक्रममा अनेसास बिओटीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेल र केन्द्रीय समितिका निवर्तमान सदस्य तारा उप्रेतीलगायतको उपस्थिति थियो ।
प्रमुख अतिथि गौतमले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । त्यस अवसरमा अतुल स्मृति गुरुकुलका बालबालिकाले मङ्गलाचरण प्रस्तुत गरेका थिए । लोकार्पित महाकाव्यबाट कविहरू कल्पना काफ्ले र भवानी खतिवडाले केही श्लोक वाचन गरेका थिए ।
कृतिको समीक्षा साहित्यकार डा.देवी नेपाल र समालोचक ज्ञाननिष्ठ ज्ञवालीले गरेका थिए । कृतिकार मञ्जिला अनिलले लेखकीय मन्तव्य राख्दै महाकवि देवकोटाबारे समाजमा विभिन्न भ्रम रहेको र ती भ्रम चिर्ने उद्देश्यले ‘बुवाहजुर’ लेखिएको बताइन् ।
कार्यक्रममा अनेसास नेपाल च्याप्टरका तर्फबाट कृतिकार अनिललाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । साथै प्रमुख अतिथि गौतम, समीक्षकद्वय डा.देवी नेपाल र ज्ञाननिष्ठ ज्ञवाली, अतुल स्मृति गुरुकुल तथा कार्यक्रम सहजकर्ता डा.घनश्याम खतिवडालाई मायाको चिनो प्रदान गरिएको थियो ।
यसैबीच वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा र वरिष्ठ आख्यानकार राजेन्द्र विमलको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रमका सहभागीले एक मिनेट मौनधारण गरेका थिए ।
अनेसास नेपाल च्याप्टरकी महासचिव रञ्जना निरौलाले स्वागत तथा उपाध्यक्ष निर्मलरमण पराजुलीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण डा.घनश्याम खतिवडाले गरेका थिए । कार्यक्रममा साहित्यकार, पत्रकार, अनेसासका सदस्य तथा कृतिकार अनिलका परिवारजनको उल्लेख्य उपस्थिति थियो ।