महेन्द्र आदर्श विद्याश्रममा कर्मचारीमाथि श्रमशोषणको आरोप, शिक्षकलाई नियुक्तिपत्र नदिएको गुनासो

दियोपोस्ट संवाददाता

ललितपुर । सातदोबाटोस्थित महेन्द्र आदर्श विद्याश्रम माध्यमिक विद्यालय तथा त्यहाँ सञ्चालित उच्च शिक्षाका कक्षामा कार्यरत शिक्षक तथा कर्मचारीलाई नियुक्तिपत्र नदिई काममा लगाइएको भन्दै विद्यालय व्यवस्थापनप्रति प्रश्न उठाइएको छ ।

विद्यालयमा वर्षौँदेखि कार्यरत शिक्षक तथा कर्मचारीले आफूहरूलाई नियुक्तिपत्र उपलब्ध नगराइएको र सरकारले तोकेको न्यूनतम पारिश्रमिकअनुसार समेत सेवा सुविधा नदिइएको गुनासो गरेका हुन् ।

उनीहरूले विद्यालय प्रशासनले सेवा सुविधाका विषयमा प्रश्न उठाउने शिक्षक तथा कर्मचारीलाई दबाब र धम्की दिने गरेको आरोपसमेत लगाएका छन् ।

प्रचलित शिक्षा तथा श्रमसम्बन्धी कानुनमा योग्य शिक्षक तथा कर्मचारी नियुक्त गर्दा नियुक्तिपत्र दिनुपर्ने र रोजगारदाताले नियुक्तिपत्र वा रोजगार सम्झौताबिना श्रमिकलाई काममा लगाउन नहुने व्यवस्था रहेको छ । तर महेन्द्र आदर्श विद्याश्रममा भने कक्षा १ देखि १२ सम्मका साथै स्नातक तहमा अध्यापन गराउने शिक्षक तथा लेक्चररलाई समेत नियुक्तिपत्र नदिइएको दाबी गरिएको छ ।

विद्यालयका एक पूर्वशिक्षकले नाम सार्वजनिक नगर्ने सर्तमा विद्यालयमा आर्थिक अनियमितता र प्रशासनिक मनोमानीसमेत हुने गरेको आरोप लगाए । उनका अनुसार यस वर्षको एसईई परीक्षाको नतिजापछि केही शिक्षक तथा प्रशासनिक कर्मचारीलाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँका दरले विद्यालयको रकम वितरण गरिएको थियो । उक्त विषयमा जानकारी पाएका केही शिक्षकलाई यसबारे बाहिर कुरा गरे जागिरबाट हटाइदिने भन्दै चेतावनी दिइएको उनको दाबी छ ।

ती पूर्वशिक्षकले विद्यालयकी निमित्त प्रधानाध्यापक अर्चना रिजालले लामो समयदेखि नियमित अध्यापन नगरी तलब तथा अन्य सेवा सुविधा लिइरहेको आरोपसमेत लगाए । विद्यालयको कक्षागत रुटिन हेर्दा यस विषयमा स्पष्ट हुन सकिने उनको भनाइ छ ।

विद्यालयमा प्रधानाध्यापकको नियमित नियुक्ति नभएको र रिजाल लामो समयदेखि निमित्त प्रधानाध्यापकका रूपमा कार्यरत रहेको अभिभावकहरूको भनाइ छ । केही अभिभावकले विद्यालयको प्रशासनिक तथा आर्थिक गतिविधिमाथि छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

एक अभिभावकले भने, ‘विद्यालयमा कार्यरत शिक्षकको दैनिक रुटिन हेरेर निमित्त प्रधानाध्यापकको अध्यापन अवस्थाबारे छानबिन गर्नुपर्छ। विद्यालयजस्तो शैक्षिक संस्थामा अनियमितता भए त्यसको निष्पक्ष अनुसन्धान आवश्यक छ।’

त्यस्तै, शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध नगराइएको र विद्यालयले उपलब्ध गराउनुपर्ने पोसाकको विषयमा समेत समस्या रहेको गुनासो गरिएको छ । विद्यालय प्रशासनले पोसाक लगाउन दबाब दिए पनि पोसाक खरिदका लागि आवश्यक रकम उपलब्ध नगराउने गरेको शिक्षकहरूको आरोप छ ।

शिक्षकहरूले विद्यालय प्रशासनले प्रत्येक शैक्षिक सत्रको सुरुवातमा आफू निकट व्यक्ति तथा आफन्तलाई प्राथमिकता दिएर नियुक्त गर्ने र अन्य शिक्षकलाई हटाउने गरेको आरोपसमेत लगाएका छन् ।

अभिभावक तथा शिक्षकहरूले विद्यालयमा लामो समयदेखि देखिएको भनिएको नियुक्ति, पारिश्रमिक, सेवा सुविधा, आर्थिक कारोबार र प्रशासनिक गतिविधिबारे सम्बन्धित शिक्षा निकायबाट छानबिन हुनुपर्ने माग गरेका छन्।

विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका गुनासो र प्रशासनमाथि लगाइएका आरोपको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उनीहरूको भनाइ छ। यद्यपि, विद्यालय प्रशासनमाथि लगाइएका आरोपहरूबारे सम्बन्धित निकायको आधिकारिक अनुसन्धान वा निष्कर्ष सार्वजनिक भइसकेको छैन ।

यस बारेमा प्रतिकृया लिन खोज्दा विद्यालयकी निमित्त प्रधानाध्यापक अर्चना रिजालले आफु बाहिर रहेकाले यस बारेमा प्रतिकृया दिन नसक्ने बताइन् ।