अदालतको आदेशपछि प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्न प्रहरी सक्रिय

दियोपोस्ट संवाददाता

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई पक्राउ गर्न प्रहरीले खोजी तीव्र बनाएको छ । पोखरी निर्माणका क्रममा सरकारी कागजात दुरुपयोग गरेको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता भएपछि प्रहरीले पक्राउको प्रक्रिया अघि बढाएको हो ।

यसअघि नवलपरासी जिल्ला अदालतले साउन २० गते यादवलाई पक्राउ गर्न अनुमति दिएको थियो । पक्राउबाट जोगिन यादव उच्च अदालत पुगेका थिए । उच्च अदालतले तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि उनी पक्राउ हुनबाट जोगिँदै आएका थिए ।

तर, शुक्रबार उच्च अदालत बुटवलले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि यादवलाई पक्राउ गर्न प्रहरीका लागि बाटो खुलेको हो । अदालतको आदेशपछि इलाका प्रहरी कार्यालय बेलाटारी र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले यादवको खोजी तीव्र बनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी एवं सूचना अधिकारी मदन थापाले यादव फरार रहेकाले उनको खोजी भइरहेको बताए । उनका अनुसार अदालतबाट पक्राउ गर्न बाटो खुलेपछि प्रहरीले खोजतलास अघि बढाएको छ ।

‘अदालतबाट पक्राउ गर्न बाटो खुलेपछि खोजतलास जारी छ,’ डीएसपी थापाले भने, ‘हामी छिट्टै पक्राउ गरेर कानुनी प्रक्रियामा लैजान्छौँ ।’