
काठमाडौँ । देशमा सञ्चालित २० वटा वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वाणिज्य बैंकमध्ये भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर सबैभन्दा धेरै घटाउनेमा सिद्धार्थ बैंक देखिएको हो ।
बैंकले साउनको तुलनामा भदौमा व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ० दशमलव २९ प्रतिशत विन्दुले घटाएर ३ दशमलव ७६ प्रतिशत कायम गरेको छ।
सिद्धार्थ बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि ० दशमलव २० प्रतिशत विन्दुले घटाएर ३दशमलव ०५ प्रतिशत कायम गरेको छ। साउनमा बैंकको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४ दशमलव ०५ प्रतिशत र संस्थागततर्फ ३ दशमलव २५ प्रतिशत थियो।
संस्थागत निक्षेपतर्फ भने नेपाल बैंकले सबैभन्दा धेरै ० दशमलव ५० प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। बैंकले साउनमा ४ प्रतिशत रहेको संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भदौमा ३ दशमलव ५० प्रतिशत कायम गरेको हो । व्यक्तिगततर्फ पनि नेपाल बैंकले ० दशमलव १० प्रतिशत विन्दुले दर घटाएर ४ दशमलव १५ प्रतिशतमा झारेको छ।
भदौमा व्यक्तिगत मुद्दती निक्षेपमा नबिल बैंक र प्रभु बैंकले सबैभन्दा धेरै ४ दशमलव ५५ प्रतिशत अधिकतम ब्याजदर दिएका छन् । त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले ४ दशमलव ५० प्रतिशत ब्याजदर कायम गरेका छन् ।
संस्थागत मुद्दती निक्षेपतर्फ एभरेस्ट बैंक, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र नेपाल बैंकले ३ दशमलव ५० प्रतिशत अधिकतम ब्याजदर कायम गरेका छन् ।
भदौमा व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर साउनको ४ दशमलव १६७५ प्रतिशतबाट घटेर ४ दशमलव १३६ प्रतिशत कायम भएको छ । त्यस्तै संस्थागत निक्षेपको औसत दर पनि घटेको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग अपेक्षाकृत कमजोर रहेका कारण बैंकहरूले निक्षेपको ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिएका हुन् ।
व्यक्तिगत निक्षेपतर्फ सिद्धार्थपछि नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र स्ट्याण्डर्ड चार्टर बैंकले पनि ब्याजदर घटाएका छन् । कुमारी बैंकले ३ दशमलव ८५ प्रतिशतबाट ३ दशमलव ७६ प्रतिशत, सिटिजन्सले ३ दशमलव ९५ प्रतिशतबाट ३ दशमलव ८५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डले ३ दशमलव ८५ प्रतिशतबाट ३ दशमलव ८० प्रतिशतमा दर झारेका छन् ।