
काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले तीन दिने भेला तथा सम्मेलन सम्पन्न गर्दै सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ । समूहले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र धार्मिक स्वतन्त्रताको संरक्षण गर्दै सनातन धर्म-संस्कृतिको संरक्षण गर्ने पाँचबुँदे प्रस्ताव अघि सारेको हो ।
सम्मेलनबाट पारित प्रस्तावमा नेपालमा परम्परादेखि चलिआएका हिन्दू, बौद्ध, किरात तथा प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई ध्यानमा राख्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने उल्लेख छ ।
प्रस्तावको तेस्रो बुँदामा भनिएको छ, ‘नेपालको सनातनदेखि चली आएको धर्म-संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो ।’ भेलाको समापन कार्यक्रममा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दू भएको बताएका थिए । उनले सम्बोधनका क्रममा आफू हिन्दू भएको पटक-पटक उल्लेख गरे पनि हिन्दू राष्ट्रको पक्षमा भने स्पष्ट धारणा राखेनन् ।
लिखित प्रस्तावमा पनि हिन्दू राष्ट्रको पक्षमा प्रत्यक्ष वकालत नगरी सनातन धर्म र संस्कृतिको संरक्षणमा जोड दिइएको छ । यसलाई कांग्रेसको इतर समूहले धार्मिक पहिचानको विषयमा मध्यमार्गी धारणा अघि सारेको रूपमा हेरिएको छ ।
त्यस्तै, सम्मेलनले वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्न संविधानमै व्यवस्था भएबमोजिम सम्बन्धित सबै पक्षसँग संवाद गरी निकास खोज्नुपर्ने प्रस्तावसमेत पारित गरेको छ ।
सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावलाई समेटेर परिमार्जनसहित पारित निर्णयलाई अन्तिम रूप दिई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा तोकिएको छ । समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सीता राना तथा सहयोगीका रूपमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइकेल रहेका छन् ।