भारतीय सेना प्रमुख धिरज सेठ काठमाडौंमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । भारतीय सेनाका प्रमुख धिरज सेठ काठमाडौं आएका छन् । उनी एयर इन्डियाको विमानमार्फत आइतबार अपराह्न चार बजे  काठमाडौं आइपुगेका हुन् ।

नेपाल भ्रमणका क्रममा भारतीय सेना प्रमुख सेठले रक्षामन्त्रीसमेतको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार भारतीय सेना प्रमुखको नेपाल भ्रमणका मुख्य दुई उद्देश्य रहेका छन् । पहिलो, नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नु र दोस्रो, नेपाल तथा भारतबीचको सैन्य सम्बन्धलाई थप प्रगाढ बनाउनु रहेको छ ।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् ।

त्यसैगरी सोमबार नै सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय सेना प्रमुख सेठबीच द्विपक्षीय भेटवार्ता हुनेछ । भेटवार्तामा नेपाल-भारत सैन्य सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।

भारतीय सेना प्रमुख सेठको बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

सम्बन्धित खबर