जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जना अझै बेपत्ता

दियोपोस्ट संवाददाता

जाजरकोट । अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । पहिरोमा परी बेपत्ता भएका दुई जनाको खोजीकार्य जारी छ ।

साउन ३० गते साँझ ५ः३० बजे आएको पहिरोमा परी सोही ठाउँका ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते भएका छन् ।

घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपालगन्ज र सुर्खेत पठाइएको छ । यसैबीच जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि नेपालगन्ज रिफर गरिएका भेरी नगरपालिका-२ साल्धारा निवासी ५२ वर्षीय केदार कार्कीको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये सोही ठाउँका ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव खोजी गर्ने क्रममा फेला परेको थियो । हाल भेरी नगरपालिका-२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विक अझै बेपत्ता छन् ।

हरिस पहिरोपछि घरबाट बाहिर निस्किएपछि सम्पर्कविहीन भएका हुन् । बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल गुल्म जाजरकोट र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त सशस्त्र प्रहरीसहितको टोली साउन ३१ गते बिहानैदेखि खोजीमा जुटेको हो ।

पहिरोले सोही क्षेत्रका आठ वटा घरमा समेत ठूलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।