प्रहरी हेडक्वाटर बिचौलियाको कब्जामा रहेको छ : खगेन्द्र सुनार

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको भन्दै छानबिनको माग गरेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनारले निश्चित बिचौलियाहरूले प्रहरी हेडक्वाटर कब्जा गरिरहेको आरोप लगाउँदै यसमा अडिग भएर छानबिन हुनुपर्ने माग गरेका हुन् ।

उनले नेपाल प्रहरीको सुरक्षा साधन खरिदमा भएका अनियमितताका कागजात १५ दिनभित्र मगाइएकोमा सो विवरण अझै उपलब्ध नभएकोप्रति आपत्ति जनाए ।

त्यस्तै उनले अघिल्लो बैठकमा आफूले उठाएका प्रश्नबाट कसैको मानमर्दन भएको लागेमा अदालत गएर मुद्दा हाल्न चुनौती दिए । अदालतको कठघरामा उभिएर प्रत्येक प्रश्नको सामना गर्न र जवाफ दिन आफू पूर्ण रूपमा तयार रहेको उनले बताए ।

उनले समिति बैठकमा एक सांसदले अर्को सांसदलाई होच्याउने, धम्क्याउने वा घेराबन्दी गर्ने कार्य मान्य नहुने उल्लेख गरे । सबै सांसदहरू जनताबाट निर्वाचित र सार्वभौम भएकाले आफ्ना कुरा राख्न पूर्ण स्वतन्त्र रहेको उनले बताए ।

उनले छलफलका क्रममा नियम विपरीत भएमा अन्य सांसदले नभई समितिका सभापतिले मात्र रुलिङ गर्नुपर्ने तर्क गरे ।

सम्बन्धित खबर