
रौतहट । बाराको कलैयाबाट बेपत्ता भएकी दुई वर्षीया बालिका करिब १२ घण्टापछि सकुशल फेला परेकी छन् ।
कलैया उपमहानगरपालिका-१ कट्टीपर्साबाट शनिबार साँझदेखि बेपत्ता भएकी मुकेश मण्डलकी दुई वर्षीया छोरी बिन्दी आइतबार बिहान सकुशल फेला परेकी हुन् ।
घरअगाडि खेलिरहेकी बिन्दी अचानक बेपत्ता भएपछि परिवारले तत्काल प्रहरीलाई जानकारी गराएको थियो। त्यसपछि प्रहरीसहित विभिन्न सुरक्षा निकायले उनको खोजी अभियान सुरु गरेका थिए।
खोजतलासका क्रममा बालिका कलैया उपमहानगरपालिका-२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
अहिले बालिकालाई सुरक्षित रूपमा उनका अभिभावकको जिम्मा लगाइएको छ । बालिकाको खोजीका क्रममा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको थियो । खोजी अभियानमा नेपाली सेना र सशस्त्र प्रहरी बलको समेत सहयोग लिइएको प्रहरीले जनाएको छ।