
काठमाडौँ । विश्वव्यापी अंग्रेजी भाषा परीक्षण प्रदायक पियरसनले पीटीई परीक्षाको तयारीका लागि आधिकारिक ‘पीटीई एआई प्राक्टिस’ प्लेटफर्म सार्वजनिक गरेको छ। नयाँ अनलाइन प्लेटफर्म पीटीई एकेडेमिक र पीटीई कोर दुवै परीक्षाको तयारी गर्ने विद्यार्थीलाई लक्षित गरी तयार गरिएको पियरसनले जनाएको छ।
प्लेटफर्ममा पियरसनले तयार गरेका आधिकारिक अभ्यास प्रश्न, एआईमा आधारित स्कोरिङ तथा व्यक्तिगत प्रतिक्रिया, पूर्ण मोक टेस्ट, सेक्सनअनुसार अभ्यास र व्यक्तिगत अध्ययन सुझाव उपलब्ध हुनेछन्। विद्यार्थीले अभ्यासका क्रममा प्राप्त नतिजाका आधारमा आफ्नो प्रगति ट्र्याक गर्न तथा थप सुधार आवश्यक पर्ने विषय पहिचान गर्न सक्नेछन्।
पियरसनका अनुसार प्लेटफर्ममा समावेश अभ्यास सामग्री वास्तविक पीटीई परीक्षाको ढाँचा र मूल्याङ्कन मापदण्डसँग मिल्ने गरी तयार गरिएको छ। यसबाट परीक्षार्थीले वास्तविक परीक्षामा आउने प्रश्नको प्रकार, उत्तर मूल्यांकनको प्रक्रिया तथा आफूले थप तयारी गर्नुपर्ने क्षेत्रबारे जानकारी पाउन सक्नेछन्।
नयाँ प्रणालीको महत्वपूर्ण पक्ष एआईमा आधारित व्यक्तिगत प्रतिक्रिया रहेको कम्पनीले जनाएको छ। विद्यार्थीले अभ्यासपछि प्राप्त नतिजाका आधारमा आफ्नो कमजोर पक्ष पहिचान गरी त्यसअनुसार अध्ययनलाई केन्द्रित गर्न सक्नेछन्। पूर्ण मोक टेस्ट र विषयगत अभ्यासमार्फत परीक्षा दिनुअघि आफ्नो तयारीको स्तर परीक्षण गर्ने सुविधा पनि उपलब्ध हुनेछ।
पीटीई एकेडेमिक कम्प्युटरमा आधारित अंग्रेजी भाषा परीक्षा हो। यसलाई उच्च शिक्षा, रोजगारी तथा आप्रवासनका विभिन्न प्रयोजनका लागि विश्वका विश्वविद्यालय, कलेज तथा सरकारी निकायहरूले स्वीकार गर्दै आएका छन्।
नेपालबाट उच्च शिक्षा तथा रोजगारीका लागि विदेश जाने विद्यार्थीको संख्या उल्लेख्य रहेकाले यो आधिकारिक एआई अभ्यास प्लेटफर्म नेपाली परीक्षार्थीका लागि पनि उपयोगी हुने अपेक्षा गरिएको छ। विशेषगरी महँगा तयारी कक्षा वा विभिन्न अनधिकृत अभ्यास सामग्रीमा निर्भर हुनुपर्ने विद्यार्थीले अब आधिकारिक परीक्षा ढाँचा र मूल्यांकन मापदण्डअनुसार अभ्यास गर्ने अवसर पाउनेछन्।