धादिङ, भदौ ५ । जिल्ला प्रहरी कार्यलय चितवनको हिरासतमा रहेका संचारकर्मी रवि लामिछानेको समर्थनमा धादिङ सदरमुकाम धादिङवेशीमा वृहत प्रदर्शन गरिएको छ । एक हप्ता अगाडी पक्राउ परेका रवि लामिछानेको समर्थनमा धादिङमा पहिलोपटक आन्दोलनसहित विरोध प्रदर्शन गरिएको हो ।
रवि नभई न्याय गुमाइएको भन्दै प्रदर्शनकारीहरुले निर्दोष रविलाई सरकारले फसाउन लागेको आरोप लगाएका छन् । धादिङवेशीको पुछारबजारबाट शुरु भएको र्याली बिचबजार सम्म पुगेको छ । नेपालको झण्डा सहित आइएम विथ रवि लामिछाने लेखिएको पोस्टर प्रदर्शन गरेका छन् ।
माउण्टेन टेलिभिजका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अगाडी रेकर्ड गरेका भिडियो सार्वजनिक भएको भोलीपल्ट सिधा कुरा जनतासंग कार्यक्रम स्थलबाटै प्रहरीले रवि लामिछानेलाई पक्राउ गरेको छ । भिडियो कीर्ते गरि सार्वजनिक गरिएको र रवि लामिछानेलाई नियोजित रुपमा फसाउन खोजिएको भन्दै चौतर्फी विरोध र प्रदर्शन भएका छन् ।
चितवन हिरासतमा रहेका रवि लामिछानेलाई जिल्ला अदालत चितवनले दुई पटक सम्म म्याद थप गरि अनुसन्धान गर्न आदेश गरेको छ ।