काठमाडौँ, भदौ १३ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुयाइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।
सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ ।
यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।
बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ ।
दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । अरु दान दीन दुःखीलाई दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।
गोकर्णेश्वर मन्दिरमा भीड
कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भए पनि बिहान ३ः०० बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको गरिएको छ ।
पितृ तीर्थ धाम एवं उत्तरगया भनेर समेत चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ । यही विश्वासमा देशका विभिन्न भागबाट आएका भक्तजनको बिहीबारदेखि भीड लागेको छ । कति भक्तजन बिहीबार बेलुकी नै मन्दिर परिसरमै आई बसेका थिए ।
गोकर्णेश्वर मन्दिरमा मात्र नभई रसुवाको वेत्रावतीमा पनि भक्तजनको लर्को लाग्छ । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास गरिन्छ ।
कुशको महत्व
धार्मिक मान्यता अनुसार संस्कृतका विभिन्न श्लोक तथा मन्त्रको तप र उच्चारण गर्दा शरीरमा एक प्रकारको उर्जा उत्पन्न हुन्छ । सो उर्जालाई शरीर मै राख्न वा संरक्षण गर्न सकिएमा शरीरमा सकारात्मक हार्मोनको विकास गराउँछ । जसको कारण शरीरमा शरीर मानसीक र शारीरिक रुपमा स्वस्थ हुन्छ । कुश अन्य घाँस परालको तुलनामा विद्युतीय कुचालक भएको कारण यसको आशनमा बसेर जप गर्दा जमिनमा उर्जा प्रभाह हुँदैन ।
कुशमा औषधीय गुण समेर रहेको छ । कुशको पातको रस सेनले शरीर को विष पदार्थ निकाल्ने काम गर्छ र सबैभन्दा मुख्य कुार त कुशले विभिन्न प्रकारका विकिरणलाइ सोस्ने गर्दछ । घरमा भएका मोबाइल, रंगीन टिभी, वाइफाइ आदिले फ्याँक्ने विकिरणको नकारात्मक प्रभाव बाट बँच्नको लागि पनि घरमा कुश राख्नु पर्ने बताइन्छ ।