साइबर स्यालका प्रतिवादक घनश्याम भुसाल आफैँ बने ‘साइबर स्याल’को नेता !

diyopost.com
दियो पोस्ट  बुधबार, भाद्र ०९, २०७८ | १५:१२:२६

विश्व अज्ञात


काठमाडौं, ९ भदौ । तत्कालिन केपी ओली सरकार विरुद्ध गत माघ २८ गते राजधानीको भृकुटीमण्डमा आयोजित विरोध सभामा एमाले नेता घनश्याम भुसालले गरेको एउटा भाषण अहिलेपनि चर्चित छ ।


उनले भनेका थिए, ‘कमरेड ओली तपाइँसँग अब के शक्ति बाँकी छ, तपाइँले बनाएको साइबर सेना भनिने साइबर स्याल बाँकी छ, तपाईँले आफूलाई त्यसको नेताका रुपमा प्रस्तुत गर्नु भएको छ ।’


घनश्यामले यस्तो भाषण गरेपछि तत्कालिन प्रधानमन्त्री ओलीको पक्षमा समाजिक सञ्जालमा लेख्ने बोल्ने र अभिव्यक्त गर्ने नेता कार्यकर्तालाई ‘साइबर स्याल’को उपमा दिन थालियो । तर, दूर्भाग्य उनै घनश्याम यतिबला साइबर स्यालको नेतामा परिणत भएका छन् ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक संसद विघटनको विरोधमा सडकमा आएका भुसाल अहिले ओलीलाई अध्यक्ष मानेर दोस्रो धारको प्रतिनिधित्व गर्दै मंगलरबार नेकपा एमालेको स्थायी समिति बैठकमा सामेल भएका छन् ।


च्यासलस्थित तुल्सिलाल स्मृति भवनमा बसेको एमाले स्थायी कमिटी बैठक र त्यसपछि अध्यक्ष केपी शर्मा ओली र पार्टीमा मध्यमार्गी धार भनिएका उपाध्यक्ष भीम रावलसहितका नेताहरुको संयुक्त फोटो सेसनमार्फत् पार्टी एकताको सन्देश दिने प्रयास गरिएको छ ।


अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच यसअघि भएको भनिएको दश बुँदे सहमति अनुसार २०७५ जेठ २ अघिकै अवस्थामा बोलाइएकोे स्थायी कमिटी बैठकमा पूर्वमाओवादीबाट एमालेमै रहेका रामबहादुर थापा बादल लगायत नेता पनि सहभागी थिए ।


यसबाट प्रष्ट हुन्छकी मंगलबारको बैठक उनीहरुले भने जस्तो जेठ २ कै अवस्थामा एमाले फर्किएको थिएन । यद्यपि कुनै बेला तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीविरुद्ध आगो ओकल्ने मध्यमार्गी नेताहरु लुरुक्क लगाएर एमाले बैठकमा सहभागी भएको दृष्य सामाजिक सञ्जालमा भाइरल नै भएको छ ।


१० बुँदे कार्यन्वयन गर्न भन्दै गठित कार्यदलमा महासचिव ईश्वर पोखरेल संयोजक छन् । पोखरेलभन्दा बरिष्ठ नेता भिम रावल त्यसको सदस्य रहेका छन् ।

रोचक कुरा के छ भने सोही कार्यदलको सदस्यमा पूर्वमाओवादीबाट एमालेमा आएका लेखराज भट्ट समेत उपाध्यक्ष रावलकै हैसियतका सदस्य छन् । सुदुरपश्चिममा रावल र भट्टवीच चर्को द्वन्द छ । केपी ओलीले रावललाई हटाएर उनको स्थानमा पूर्वमाओवादी खेमाका भट्टलाई प्रदेश ईन्चार्ज नियुक्त गरेका थिए ।


तकालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाभित्रको विवाद सतहमा आएको थियो । त्यतिबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएर बनेको संयुक्त नेकपा अस्तित्वमा थियो । आफ्नै पार्टी अध्यक्षले संसद भंग गरेपछि नेकपाकै अर्को खेमा सडक आन्दोलनमा उत्रिएको थियो ।

जसको अग्र पंक्तिमा थिए, एमाले महासचिव घनश्याम भुसाल । उनले ओली सरकारको कृषि तथा पशुपंक्षी मन्त्रीबाट समेत राजीनामा दिएर सडक संघर्षमा होमिएका थिए । मन्त्री बन्नुअघि भुसालले ओली सरकारले गरेको भ्रष्टाचारको चर्को विरोध गरेका थिए । सबैजसो राजनीतिक मञ्चमा उनले ओली सरकार र नेकपा नेतृत्वको चर्को आलोचना गर्ने गर्थे ।


तर अहिले अवस्था ठ्याक्कै उल्टो बनेको छ । त्यस बेला माधव कुमार नेपाललाई जस्तोसुकै विद्रोहका लागि अघि बढ्न उक्साउने दोस्रो पुस्ताका नेता भुसाल लगायतका नेताहरुले निशर्त अध्यक्ष ओलीलाई समर्थन गरेका छन् । भने नेता नेपाललाई राजनीतिक जीवनको कठिन मोडमा पुर्याएर भुसालसहित १० नेताले ‘धोका’ दिएका छन् ।


संसद विघटन विरुद्ध तत्कालीन नेकपा माधव–प्रचण्ड पक्षले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीसँग साइबर सेना अर्थात् साइबर स्याल मात्र बाँकी रहेको बताएका थिए । उनले ओलीलाई साइबर स्यालका नेता भएको समेत आरोप लगाएका थिए ।


उनले सारा दुनियाँ एकातिर र ओली एकातिर रहेको पनि बताएका थिए । राष्ट्रपतिलाई नै कठपुतलीजस्तो बनाएको आरोप लगाउँदै संसद विघटन विघटन गर्ने कार्य गलत र प्रतिगामी भएको भुसालको ठहर थियाो ।


उनले ट्वीटरमा लेखेका थिए, ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ ।

‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु ।’

तर केही दिन यता भुसाल, रावललगायतका नेताहरु एकाएक ओली प्रति नरम देखिनु रहस्यमय छ । यतिबेला माधव कुमार नेपालले नयाँ पार्टी गठनको प्रक्रिया नै अन्तिम चरणमा पुर्याएका बेला उनीहरु अध्यक्ष ओली खेमामा लागेर नेपालले नयाँ पार्टी गठन गरेका विषय गलत भएको बताइरहेका छन् ।


हिजो उनीहरुले ओलीमाथि लगाएको आत्मकेन्द्रीत, स्वेच्छाचारी, गुटको नेता र प्रतिगमनकारीको आरोप आज रातारात बालकोटको एकै भेटमा कसरी सच्चियो भन्ने प्रश्न आम कार्यकर्ता पंक्तिमा उठिरहेको छ । सामाजिक सञ्जालहरुमा उनीहरुलाई अवसरवादी नेताका रुपमा समेत चित्रण गर्न थालिएको छ ।


नेकपा एमालेबाट संविधान सभा सदस्य रहेका पुराना नेता गुरु बुर्लाकोटीले भुसाललाई व्यङ्ग्य गर्दै लेखेका छन्,‘साइबर स्याल सिद्धान्तका व्याख्याकार आज आफै स्यालकै सञ्चालकको साइबर स्याल बनेको खबर सुनियो । सत्य होला र ?’

सम्बन्धित खबर