बाबु हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा, छोराविरुद्ध भ्रष्टाचार मुद्दा

घटनाको १६ वर्षपछि पक्राउ

दियो पोस्ट  

काठमाडौं । हत्याको अभियोगमा पूर्वक्षका लागि जेल चलान भएका मधेश प्रदेशका सांसद अनिरद्धसिंह यादव निलम्बनमा परेका छन् । सोमबार पक्राउ परेका सांसद अनिरुद्धलाई मंगलबार जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको थियो । उनलाई न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । रिताकुमारी चौधरीको जाहेरीले नेपाल सरकार भएको कर्तव्य ज्यान र डाँका मुद्दाका फरार प्रतिवादी अनिरुद्ध घटना भएको १६ वर्षपछि पक्राउ परेका थिए ।

उनीसँगै छोरा सप्तरीकै बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमारसिह यादव पनि निलम्बनमा परेका हुन् । मेयर यादवमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलेको छ ।

के हो हत्याको घटना ?
२०६४ असारमा सप्तरीका एक पुरुषको हत्या भयो । सप्तरीको साबिक नेगडा गाविस– ५ मा दीपु भनिने गोविन्द चौधरीको अपहरणपछि गोली हानी हत्या भएको हत्यमा संलग्न भएको भन्दै यादवविरुद्ध किटानी जाहेरी पर्याे । आफूविरुद्ध जाहेरी परेपछि यादव लगत्तै फरार भए । पछि राजनीतिमा सक्रिय भएर उनी गत निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भए । १९ चैत ०६८ मा जिल्ला अदालत सप्तरीले उनको हकमा तत्कालीन मुलुकी ऐनको अदालती बन्दोबस्तीको १९० बमोजिम मुल्तबीमा राख्ने आदेश गरेको थियो । अनिरुद्ध पक्राउ परेसँगै यो मुद्दा मुल्तबीबाट जागेको छ । अब उनीमाथि कर्तव्य ज्यान र डाँका मुद्दामा अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि बढ्नेछ ।

छोरा आतेशसिंह यादवविरुद्ध भ्रष्टाचार मुद्दा
अनिरुद्धका छोरा तथा बोदेबर्साइन नगरपालिकाका मेयर आतेशसिंह यादवविरुद्ध गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठजनालाई १४ लाख ७१ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भन्दै मुद्दाको प्रतिवादी बनाइएको छ । नगरपालिकाबाट ०७७÷७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रममा अनियमितता भएको ठहरसहित मुद्दा दायर भएको हो । जसमा नगरपालिकाका पशु विकास अधिकृत अर्जुनप्रसाद यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव र लेखापाल सरोजकुमार मण्डलको समेत संलग्नतामा उक्त परियोजनाको रकम हिनामिना भएको अभियोग लगाइएको छ ।

नगर प्रमुख सिंह, वडा नम्बर ४ का अध्यक्ष रामानन्द चौधरी, तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतसमेतलाई प्रतिवादी कायम गरिएको छ । उनीहरूसमेतले परियोजनाका लागि सम्झौता गरे पनि त्यस सम्झौताअनुसार काम नगरेको र झुटो बिल–भर्पाई लिई भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।