विराटनगर किङ्सको आयोजनामा भव्य सांगीतिक कार्यक्रम हुँदै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । एनपीएल टिम विराटनगर किङ्सले कोशी प्रदेशको राजधानीविराटनगरस्थित जैन भवनमा यहि भाद्र २१ गते शनिबार एक रोमाञ्चक सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

यस कार्यक्रममा नेपालका चर्चित युवा आइकन गायक नितेश जंग कुँवरले मुख्य आकर्षणका रूपमा आफ्नो प्रस्तुति दिनेछन्। साथै, स्थानीय कलाकारहरू शुभम एण्ड द ब्याण्ड र मृत्युन्जयले पनि आ-आफ्नो प्रस्तुति मार्फत साँझलाई थप रोमान्चक बनाउने छन्।

साँझ ४ः३० बजे सुरु हुने कार्यक्रमको टिकट मूल्य प्रतिव्यक्ति रु. २०० तोकिएको छ। तर, विराटनगर किङ्सको जर्सी लगाएका दर्शकलाई भने टिमका समर्थकका लागि प्रदान गरिने विशेष सम्मान स्वरूप निःशुल्क प्रवेश दिइनेछ।

यस विशेष पहलमार्फत टिमले आफ्ना समर्थकप्रति आभार प्रकट गर्दै कोशी प्रदेशका सम्पूर्ण दर्शकलाई “कोशीको गौरव, हाम्रो पहिचान” भन्ने मूल मन्त्रमा एकताबद्ध गर्ने लक्ष्य राखेको छ।