काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टितेलको खुद्रा मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ। निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार बढेको मूल्य मध्यरातदेखि लागू हुने जनाएको छ।
निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो। निगमका अनुसार भारतीय आयल कर्पोरेशन (आईओसी)बाट प्राप्त पछिल्लो मूल्यसूचीमा इन्धनको खरिद मूल्य बढेपछि स्वदेशी बजारमा पनि मूल्य समायोजन गर्नुपरेको बताइएको छ ।
मूल्यवृद्धिसँगै अब क्षेत्रअनुसार डिजेल र मट्टितेलको मूल्य फरक–फरक दरमा लागू हुनेछ। यद्यपि, पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेकाले समय–समयमा मूल्य समायोजन गर्नुपर्ने अवस्था आएको स्पष्ट पारेको छ।
डिजेल र मट्टितेलको मूल्य वृद्धि भएपछि यातायात भाडा, ढुवानी खर्च तथा उपभोग्य वस्तुको मूल्यमा समेत दबाब पर्ने सरोकारवालाहरूको भनाइ छ।