काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले पेश गरेको समानुपातिक बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ। आयोगले कानुनी मापदण्ड नपुगेको, दोहोरो नाम समावेश भएको तथा विभिन्न उजुरीका आधारमा ती उम्मेदवारको नाम हटाइएको हो ।
निर्वाचन आयोगका अनुसार हटाइएका उम्मेदवारमध्ये २५ जनाको नाम प्रदेशसभा सदस्यको समानुपातिक बन्दसूचीमा समेत परेकाले प्रतिनिधिसभाको सूचीबाट हटाइएको हो।
यस्तै, कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका २१ जना, तोकिएको जरिवाना नतिरेका १० जना तथा दल स्वयंले हटाउन सिफारिस गरेका १० जना उम्मेदवारको नाम पनि बन्दसूचीबाट हटाइएको छ।
त्यसैगरी, उमेर नपुगेका चार जना, मतदाता नामावलीमा नाम नभएका एक जना, मतदाता नामावली फरक जिल्लामा दर्ता भएका दुई जना तथा महिला क्लस्टरमा पुरुष उम्मेदवार समावेश गरिएको एक जना उम्मेदवारको नाम पनि हटाइएको आयोगले जनाएको छ। अन्य प्रशासनिक तथा प्राविधिक कारणले दुई जनाको नाम हटाइएको छ।
उम्मेदवारहरूको योग्यता, उजुरी तथा कानुनी प्रावधानको अध्ययनपछि बन्दसूची परिमार्जन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । “निर्वाचन ऐन र नियमावलीअनुसार मापदण्ड पूरा नगर्ने उम्मेदवारलाई सूचीमा राख्न नमिल्ने भएकाले नाम हटाइएको उनले जानकारी दिए ।
निर्वाचन आयोगले सबै राजनीतिक दललाई समानुपातिक बन्दसूची समावेशी, पारदर्शी र कानुनसम्मत बनाउन पुनः ध्यान दिन आग्रह गरेको छ। आयोगका अनुसार आवश्यक परे थप परिमार्जनको प्रक्रिया पनि अघि बढाइनेछ।