काठमाडौँ । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र ट्याक्टर आपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन्। नवलपरासीतर्फबाट भैरहवातर्फ जाँदै गरेको स्कुल बस र धान बोकेको ट्याक्टर एकआपसमा ठोक्किँदा मंगलबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका विद्यार्थीहरू मणिग्रामस्थित एक माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेमध्ये १३ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा, ४ जनाको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ भने ४ जनालाई सामान्य उपचारपछि घर पठाइएको छ। अधिकांश घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार बिहानको समयमा लागेको कुहिरोका कारण दृश्यता कम हुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनापछि बस र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।