पोखरा महानगरले मजुवास्थित विद्यालय क्षेत्रमा फोहोर फाल्न लागेको भन्दै स्थानिय आन्दोलित

दियोपोस्ट संवाददाता  

कास्की । पोखरा महानगरपालिकाले नयाँ डम्पिङ साइटको रुपमा पोखरा ३२ स्थित मजुवालाई बनाउन खोजिएको भन्दै स्थानियले विरोधगरेका छन् । आइतबार स्थानिय टोल सुधार समितिको संयोजनमा सयौँ स्थानियबासीले वडा कार्यालय ३२ को कार्यालय घेराबन्दी गरेको हो ।

स्थानियहरुले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र वडाध्यक्ष अक्कल बहादुर कार्कीका विरुद्ध चर्को नाराबाजी गरेका थिए । स्थानियबासी आन्दोलन गर्न आउने सुचना पाएपछि वडाध्यक्ष कार्की कार्यालयबाट भागेका थिए । कार्यावाहक वडाध्यक्ष तिर्थ बहादुर सुयाल समक्ष स्थानियबासीले ज्ञापन पत्र बुझाएका छन् । स्थानियबासीले महानगरपालिकाले बजेट र स्वास्थ्य विमाको प्रलोभन देखाएर आफ्नो जीवनमाथि खेलवाड गरेको आरोप लगाएका छन् । हाल महानगरपालिकाले ल्याण्डफिल्ड साइट बनाउन खोजेको क्षेत्र मजुवाबासीसँग समन्वय नै नगरी मेयर धनराज आचार्यले केही घण्टा भित्रै फोहोर व्यवस्थापन हुने झूटो वक्तव्य दिएका थिए ।

कार्यावाहक वडाध्यक्ष सुयालका अनुसार आफूहरुले मेयर र वडाध्यक्षसहितको छलफलमा वडा नम्बर ३२ मा ३ वर्षसम्म निरन्तर फोहोर फालेको र अब सबै वडामा पालैपालो फोहोर फाल्नुपर्ने भन्दै विरोध गरेका थिए । वडासदस्य सुयाल लगायतको विरोधका बाबजुत पनि मजुवालाई नयाँ ल्याण्डफिल्ड साइट बनाउन खोजिएको उनको भनाई छ । लामेआहाल टोल सुधार समितिका संयोजक राम बहादुर गुरुङले पवित्र धार्मिक धरोहर गुरुङको जातीको चिहान, सेति नदिको किनार मजुवामा फोहोर फाल्न नहुने भन्दै ज्ञापन पत्र बुझाए ।

स्थानियका अनुसार फोहोर फाल्न खोजिएको क्षेत्रमा कालिका आधारभूत विद्यालय छ । विद्यार्थी बालबालीकाको स्कुल क्षेत्रमा फोहोर फाल्ने कार्य भए तुरुन्त संघर्षमा उत्रने उनीहरुको धम्की छ । आन्दोलनमा स्थानिय मिलिजुली समाज, दियालो युवा क्लबले समेत सहभागीता जनाएको थियो ।

 

सिफारिस