कविराज नेगी पारा तेक्वान्दो ‘कोच’ अफ द इयर-२०२५ बाट सम्मानित

दियोपोस्ट संवाददाता  

काठमाडौं, २० माघ । नेपाल तेक्वान्दो संघका राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी विश्व तेक्वान्दो महासंघ (World Taekwondo) बाट ‘२०२५ पारा तेक्वान्दो कोच अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन्। विश्व तेक्वान्दोको प्राविधिक आयोगको छनोट तथा सिफारिसमा नेगीलाई उक्त सम्मान प्रदान गरिएको हो।

विश्व तेक्वान्दो महासंघले संयुक्त अरब इमिरेट्सको फुजेराहमा आयोजना हुने २०२५ -World Taekwondo Gala Awards समारोहमा उनलाई सम्मान गर्ने जनाएको छ।

नेगी सन् २०१५ देखि नेपाल तेक्वान्दो संघको राष्ट्रिय पारा तेक्वान्दो टोलीका प्रशिक्षकका रूपमा कार्यरत छन्। उनको प्रशिक्षणमा नेपाली पारा तेक्वान्दो खेलाडीहरूले उल्लेखनीय अन्तर्राष्ट्रिय सफलता हासिल गरेका छन्। नेपालले World Para Taekwondo Grand Prix Final (G10) 2022 मा स्वर्ण पदक, हाङझाउ एशियन पारा गेम्स २०२२ मा कांस्य पदक तथा Paris Paralympic Games 2024 (G24) मा ऐतिहासिक ओलम्पिक कांस्य पदकसहित एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय पदक जित्न सफल भएको छ।

नेगीलाई प्राप्त यस अन्तर्राष्ट्रिय सम्मानले नेपाल र नेपाली खेलकुदको पहिचान तथा प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुगेको नेपाल तेक्वान्दो संघले जनाएको छ। साथै, यसले भावी खेलाडी तथा प्रशिक्षकहरूलाई प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।

यसअघि पनि नेगी NOC Best Coach Male Award-2022, NSC Best Coach Award-2024, बागमती प्रदेश सरकारबाट उत्कृष्ट प्रशिक्षक पुरस्कार-2025 तथा NSJF Pulsar Sports Award-2081 (2026) लगायत विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका छन्।