कास्की । फोहोरमैला व्यवस्थापनमा चरम भ्रष्टाचार गरेको आरोप लागेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा ३२ मजुवाका स्थानियबासीलाई धम्की दिएको खुलेको छ । वडा नम्बर ३२ का स्थानियहरुले आफ्नो बस्ती नै उठाएर फोहोर व्यवस्थापन गर्ने धम्की मेयर आचार्यले दिएको बताएका छन् ।
आइतबार वडा नम्बर ३२ मा आन्दोलनमा आएकी एक किशोरीका अनुसार मेयर आचार्यले उनीहरुलाई अप्रत्यक्ष रुपमा अव्यवस्थित बसोबास क्षेत्रका ती स्थानियलाई धम्की दिएका हुन् । ‘वन जंगल भएको स्थानमा फोहोरको डम्पिङ साइट बनाउन पाइँदैन भनेर लेखिएको छ । वडा नम्बर ३२ को वडाध्यक्ष र महानगरको मेयरज्युले हामीसँग बैठक गरेर हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा धम्की पनि दिनु भएको छ,’ स्थानिय एक युवतीले भनिन्,‘तपाईंहरुको व्यक्तिको लालपुर्जा भएको जग्गा र वस्तिलाई उठाएर भएपनि डम्पिङ साइट बनाउँछु भन्नु भएको छ । यो सरासर गलत हो । उहाँ जस्तो मेयर पदमा बसेको मान्छेले यस्तो धम्की दिन मिल्दैन ।’
पोखरा महानगरपालिकाले वडा नम्बर ३२ मजुवामा फोहोर फाल्न लागेको भन्दै स्थानियबासीले आन्दोलन गरिरहेका छन् । मेयर धनराज आचार्यले फोहोर उठाउने कम्पनिलाई करोडौँ राजश्व छुट दिनेदेखि फोहोर प्रशोधन केन्द्र निर्माणको ठेक्कासम्म भ्रष्टाचार गर्दैं आएको प्रमाणहरु फेला परेको छ ।