हेलिकप्टरमा निर्भर नभई स्याफ्रुबेँसीसम्म सडक जोड्न सरकारलाई घिसिङको सुझाव

दियोपोस्ट संवाददाता

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन् ।

प्रभावित क्षेत्रको स्थलगत भ्रमणपछि बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहलाई उद्धार, राहत र पुनर्स्थापनाका विषयमा लिखित तथा मौखिक सुझाव प्रस्तुत गर्दै घिसिङले हेलिकप्टरमा मात्र निर्भर नरही स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सुझाव दिए ।

बाढीको कारण सडक सम्पर्क नहुँदा उपकरण पुर्‍याउन ढिलाइ भएको र हेलिकप्टरमार्फत आवश्यक सामग्री ढुवानी गर्नुपर्ने अवस्था रहँदा कठिन भएको उनले बताएका छन् ।

त्यस्तै बालबालिका, महिला तथा वृद्ध वृद्धाको स्वास्थ्य र सामाजिक सुरक्षाका लागि प्रभावकारी प्रबन्ध मिलाउनुपर्नेस बालबालिकालाई काठमाडौँ ल्याएर व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको घिसिङले जानकारी दिए ।

उनले नदी किनारमा मात्र नभई जोखिम मूल्यांकन गरेर सुरक्षित स्थानमा मात्र सडक र पूर्वाधार बनाउनुपर्ने, क्षतिग्रस्त तथा निर्माणाधीन आयोजनाहरूलाई सञ्चालनमा ल्याउन र निजी क्षेत्रका समस्या समाधान गर्न सरकारले विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने सुझाव दिइएको उनले जानकारी दिए ।