भोटेकोशी बाढीः विभिन्न सुरुङमा उद्धार कार्य तीव्र, यस्तो छ-कार्य प्रगति

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोटेकोशीमा आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारका लागि सुरक्षाकर्मीले खोजी तथा उद्धार अभियानलाई तीव्रता दिएका छन् । केही सुरुङमा उद्धार टोलीले उल्लेख्य दूरी पार गरिसकेको छ भने त्रिशूली-३ ‘ए’ आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ ।

उद्धार प्रगतिअनुसार त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको एउटा सुरुङमा उद्धार टोली करिब १ सय ७० मिटरभित्र प्रवेश गरेको छ। सो टोलीले दुई जनालाई जीवितै उद्धार गरिसकेको छ भने सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी छ ।

त्यस्तै, त्रिशूली-३ ‘बी’ आयोजनाको सुरुङमा नेपाली सेनाको टोली करिब ३० मिटरभित्र प्रवेश गरेको छ । टोलीले अहिले सुरुङभित्र जमेको माटो र लेदो फाल्ने काम गरिरहेको छ ।

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा पनि नेपाली सेनाको टोली करिब १ सय ५० मिटरभित्र प्रवेश गरी खोजी तथा उद्धार प्रयास गरिरहेको छ । यसैगरी लाङटाङ हाइड्रोको सुरुङमा विभिन्न ठाउँबाट प्वाल पारेर करिब ४ फिट लम्बाइ र ३ फिट चौडाइको बाटो खोलिएको छ। सो मार्गबाट पनि उद्धार प्रयास भइरहेको छ ।

अपर त्रिशूली-१ को सुरुङमा नेपाली सेनाको उद्धार टोली करिब २ सय मिटरभित्र प्रवेश गरेको छ। त्यस्तै, रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा सेना करिब २ सय ७५ मिटरभित्र प्रवेश गरी उद्धार तथा खोजी गरिरहेको जनाइएको छ ।

मेलुङ खोला जलविद्युत् आयोजनामा पनि खोजी कार्य जारी रहेको छ ।

रसुवामा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका कर्मचारी तथा कामदारको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा अन्य उद्धार टोली परिचालित छन् । सुरुङभित्रको अवस्था चुनौतीपूर्ण रहे पनि केही स्थानमा उद्धार टोलीले जीवित व्यक्तिसम्म पुग्न सफल भएपछि अन्य सुरुङमा फसेकाहरूको उद्धार हुने आशा बढेको छ ।

सम्बन्धित खबर

सिफारिस