इन्डोनेसियामा अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट, जकार्ता विमानस्थलमा उडान प्रभावित

दियोपोस्ट संवाददाता

जकार्ता । इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखीबाट निस्किएको ज्वालामुखीय खरानीका कारण राजधानी जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा प्रभावित भएको छ ।

ज्वालामुखीबाट निस्किएको खरानी विमानस्थल आसपासको आकाशमा फैलिन थालेपछि आइतबार बिहान विमानस्थलको सञ्चालन केही घण्टाका लागि स्थगित गरिएको थियो । इन्डोनेसियाको यातायात मन्त्रालयका अनुसार यसबाट २०९ वटा उडान प्रभावित भएका छन् । तीमध्ये आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान छन् ।

विमानस्थलको हवाई सेवा स्थानीय समयअनुसार बिहान १ः३० बजेदेखि ९ः३० बजेसम्म अस्थायी रूपमा बन्द गरिएको थियो । यस अवधिमा करिब २२ हजार ७९८ यात्रु प्रभावित भएको इन्डोनेसियाली अधिकारीहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ सिंगापुर जाने-आउने उडान सबैभन्दा बढी प्रभावित भएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फ १६ वटा उडान रद्द, सातवटा ढिलाइ र पाँचवटा पुनः तालिकीकरण गरिएको जनाइएको छ । सिंगापुर, हङकङ, सिड्नी, सियोल, दोहा, एम्स्टर्डम र क्वालालम्पुरतर्फका उडान प्रभावित भएका छन् ।

अनाक क्राकाटाउमा शुक्रबार रातिदेखि नै ज्वालामुखीय गतिविधि बढेको थियो । आइतबार बिहान विस्फोट भएपछि ज्वालामुखीय खरानी विमानस्थलसम्म पुगेको हो । इन्डोनेसियाको मौसम विज्ञान तथा भूभौतिकी निकायका अनुसार खरानीको बादल जाभातर्फ करिब ६ हजार मिटर र सुमात्रातर्फ तथा बान्टेन प्रान्तका केही क्षेत्रमा १५ हजार मिटरसम्मको उचाइमा पुगेको थियो ।

विस्फोटपछि ज्वालामुखीय खरानीका कारण स्थानीय क्षेत्रमा विद्यालयका गतिविधि र माछा मार्ने कामसमेत रोकिएको छ । अधिकारीहरूले सर्वसाधारणलाई सतर्क रहन तथा खरानीको प्रत्यक्ष सम्पर्कबाट जोगिन आग्रह गरेका छन् ।

यद्यपि, इन्डोनेसियाली विपद् व्यवस्थापन अधिकारीहरूले हाल तत्काल सुनामीको जोखिम नरहेको बताएका छन् । अनाक क्राकाटाउ सन् २०१८ को शक्तिशाली विस्फोटपछि आएको विनाशकारी सुनामीका कारण पनि चर्चित छ ।

विमानस्थल सञ्चालनमा आएको अवस्थामा समेत उडान तालिकामा ढिलाइ, विमानको रोटेसन र आगामी उडानमा असर पर्न सक्ने भएकाले यात्रुहरूलाई सम्बन्धित विमान कम्पनीसँग आफ्नो उडानको पछिल्लो अवस्थाबारे जानकारी लिन अधिकारीहरूले आग्रह गरेका छन् ।

सम्बन्धित खबर

सिफारिस