
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढी आएको १३ दिन बितिसकेको छ । तर विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युतगृहमा सम्पर्कविहीन भएका सयौँ कर्मचारी तथा कामदारको अवस्था अझै अज्ञात छ ।
बाढी पछि छ वटा प्रमुख आयोजनामा ५ सय ५७ जना सम्पर्कविहीन छन् । तीमध्ये कति सुरुङभित्र छन् भन्ने पूर्ण यकिन नभए पनि तीन जनाको जीवितै उद्धारले बाँकी रहेकाको पनि जीवितै उद्वार हुन सक्ने संभावना बढेको छ ।
बाढीपछि प्रभावित आयोजनाहरूमा खोज तथा उद्धार कार्य जारी रहे पनि सुरुङभित्र जमेको लेदो, क्षतिग्रस्त संरचना, पानी र कठिन भौगोलिक अवस्थाका कारण उद्धार टोलीले अपेक्षित गति लिन सकेको छैन ।
चिलिमे, त्रिशूली-३ ‘बी’, त्रिशूली-३ ‘ए’, लाङटाङ खोला, रसुवागढी र माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा गरी ९ सय २७ जना सम्पर्कविहीन रहेको बताइएको छ । यद्यपि सम्पर्कविहीन सबै व्यक्ति सुरुङभित्रै छन् भन्ने यकिन भइसकेको छैन । कतिपय बाढीमा बगेको हुनसक्ने तथा कतिपय सुरुङ वा पावरहाउसमा फसेको हुनसक्ने अनुमान गरिएको छ ।
सबैभन्दा ठूलो संख्या माथिल्लो त्रिशूली-१ मा देखिन्छ । त्यहाँ ६ सय ८५ जना सम्पर्कमा रहे पनि ५ सय ५७ जना सम्पर्कविहीन रहेको उल्लेख छ । त्यसैगरी त्रिशूली-३ ‘बी’मा १ सय ९१, रसुवागढीमा ९३, त्रिशूली-३ ‘ए’मा ४०, लाङटाङ खोलामा ४० र चिलिमेमा ६ जना सम्पर्कविहीन छन् ।
त्यसो त, त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई कर्मचारीलाई जीवितै उद्धार गरिएपछि अन्य सुरुङमा सम्पर्कविहीन रहेका कर्मचारी पनि जीवितै हुनसक्ने आशा बलियो बनेको छ ।
उद्धार टोली त्रिशूली-३ ‘ए’को सुरुङभित्र करिब १ सय ७० मिटर भित्रसम्म पुगेको र त्यहीँबाट दुई जनालाई जीवितै निकालिएको थियो । यही घटनाले रसुवागढी, त्रिशूली-३ ‘बी’, माथिल्लो त्रिशूली-१ लगायतका आयोजनाका सुरुङमा फसेका आफन्तको परिवारमा पनि आशा जगाएको छ ।
विशेषगरी सुरुङभित्र हावाको खाली स्थान वा सुख्खा भाग रहेको अवस्थामा लामो समयसम्म मानिस जीवित रहन सक्ने सम्भावना रहेकाले खोजीलाई निरन्तरता दिनुपर्ने भन्दै परिवारले आग्रह गरेका छन् ।
कुन सुरुङमा कस्तो छ अवस्थाः
चिलिमे जलविद्युत् आयोजनामा ६ जना सम्पर्कविहीन छन् । नेपाली सेनाको टोली सुरुङभित्र करिब १ सय ५० मिटर प्रवेश गरेर खोजी गरिरहेको बताइएको छ । उद्धारका लागि पम्प र एक्साभेटरसमेत प्रयोग गरिएको विवरण छ ।
त्रिशूली-३ ‘बी’मा १ सय ९१ जना सम्पर्कविहीन भएका छन् । उद्धार टोली सुरुङभित्र करिब ३० मिटर प्रवेश गरिसकेको भए पनि ठूलो मात्रामा माटो र लेदो थुप्रिएका कारण त्यसलाई हटाउने काम भइरहेको छ । चिनियाँ विज्ञको सहयोगमा नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणको टोली पनि परिचालन भएको छ ।
त्रिशूली-३ ‘ए’मा ४० जना सम्पर्कविहीन रहेको विद्युत प्राधिकरणको भनाई छ । यस आयोजनामा दुई जनाको जीवित उद्धार भइसकेको छ । सेनाको टोलीले सुरुङभित्र निरन्तर खोजी गरिरहेको छ ।
लाङटाङ खोला जलविद्युत् आयोजनामा ४० जना सम्पर्कविहीन छन् । सुरुङका विभिन्न भागबाट प्वाल बनाएर भित्र पस्ने प्रयास भइरहेको बताइएको छ । यस आयोजनामा पम्प र एक्साभेटरको प्रयोगसमेत भइरहेको छ ।
रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना सम्पर्कविहीन छन् । उद्धार टोली सुरुङभित्र करिब २ सय ७५ मिटर प्रवेश गरेको विवरण छ । तर लेदो र क्षतिग्रस्त संरचनाका कारण भित्रसम्म पुग्न कठिन भइरहेको छ बताइएको छ ।
सबैभन्दा ठूलो चुनौती भने माथिल्लो त्रिशूली-१ आयोजनामा देखिएको छ । यहाँ ५ सय ५७ जना सम्पर्कविहीन छन् । उद्धार टोली सुरुङभित्र करिब २ सय मिटर प्रवेश गरेको भए पनि कुनै पनि मानिसको उद्धार गर्न नसकिएको बताइएको छ । यस आयोजनामा चिनियाँ तथा दक्षिण कोरियाली टोलीले पनि उद्धारमा सहयोग गरिरहेका छन् ।
सुरुङ उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सम्बन्धित जलविद्युत् आयोजनाका प्राविधिक टोली परिचालन भए पछि कठिन ठाउँमा सुरुङ खन्ने, लेदो र पानी हटाउने, प्वाल पार्ने तथा विस्फोटक प्रयोग गरेर अवरोध हटाउने लगायतका काम भइरहेको बताइएको छ ।
सरकारले उद्धारका लागि भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोलीलाई समेत परिचालन गरेको प्रधानमन्त्रीले संसद्मा बताएका थिए । प्रारम्भमा उद्धारमा ढिलाइ भएको भन्दै आफन्त तथा विभिन्न पक्षबाट सरकारको आलोचना भएपछि आयोजनाका प्रवर्द्धक तथा प्राविधिक टोलीलाई समेत उद्धारमा प्रत्यक्ष संलग्न गराइएको थियो ।
तर आफन्तहरूको मुख्य प्रश्न भने अझै उस्तै छ-सुरुङभित्र रहेका आफ्ना मान्छे कहाँ छन् र उनीहरूलाई कहिले बाहिर निकालिन्छ ?
बाढी गएको १३ दिन पुग्दा समयसँगै सुरुङभित्र फसेकाहरूको जीवित उद्धारको सम्भावना घट्दै गएको चिन्ता स्वाभाविक भए पनि त्रिशूली-३ ‘ए’बाट भएको दुई जनाको जीवित उद्धारले आशा भने मर्न दिएको छैन ।
नेपाली सेनाले विभिन्न आयोजनाका सुरुङमा खोज तथा उद्धारलाई निरन्तरता दिएको जनाएको छ । पछिल्लो विवरणअनुसार त्रिशूली-३ ‘ए’, त्रिशूली-३ ‘बी’, चिलिमे, लाङटाङ, माथिल्लो त्रिशूली-१ र रसुवागढीलगायतका सुरुङमा टोलीले फरक-फरक प्रविधि र उपकरण प्रयोग गरिरहेको छ ।
अब चुनौती केवल उद्धार टोलीलाई सुरुङभित्र पुर्याउनु मात्र होइन, भित्र फसेका मानिससम्म पुग्ने, उनीहरू जीवित छन् कि छैनन् भन्ने यकिन गर्ने र सम्भव भएसम्म तत्काल सुरक्षित बाहिर निकाल्ने हो । १३ दिनसम्म पनि परिवारले आफ्ना आफन्तको अवस्था थाहा नपाउनु आफैंमा ठूलो मानवीय संकट हो ।
त्यसैले उद्धारमा संलग्न सबै संयन्त्रबीच थप प्रभावकारी समन्वय, अत्याधुनिक उपकरण तथा आवश्यक अन्तर्राष्ट्रिय विशेषज्ञताको अधिकतम प्रयोग गर्दै सुरुङको अन्तिम भाग र पावरहाउससम्मै पुगेर खोजी गर्नुपर्ने दबाब बढेको छ । प्रधानमन्त्रीले पनि सुरुङ उद्धारमा देखिएको कठिनाइ स्वीकार गर्दै अन्तर्राष्ट्रिय टोली परिचालन गरिएको बताएका छन् ।