
काठमाडौं – विश्व प्रसिद्ध जलवायु अभियन्ता ग्रेटा थनबर्गले नेपालमा हालै गएको विनाशकारी बाढी तथा विपद्प्रति गहिरो शोक व्यक्त गर्दै विश्व समुदायलाई कडा प्रश्न उठाएकी छिन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले यो विपद् कुनै प्राकृतिक प्रकोप नभई धनी राष्ट्र र जीवाश्म इन्धन कम्पनीहरूको लापरबाहीका कारण उत्पन्न जलवायु संकटको परिणाम भएको बताएकी छिन् ।
थनबर्गले यो उत्सर्जन मुख्यतया आर्थिक रूपमा सम्पन्न देशहरू र जीवाश्म इन्धन (फसिल फ्युल) कम्पनीहरूबाट भएको उल्लेख गर्दै, उनीहरूले जलवायु संकट निम्त्याउने इन्धन निकालेर र बेचेर अपार मुनाफा कमाएको बताएकी छिन् । “यी हराएका र बर्बाद भएका जीवनहरू नै यसको वास्तविकता र लागत हुन् । हामीलाई अति नै जरुरी रूपमा जलवायु क्षतिपूर्ति (क्लाइमेट रिप्यारेसन) चाहिएको छ । यसलाई सहायता भन्न बन्द गर्नुहोस्। यसलाई उदारता भन्न बन्द गर्नुहोस्,” थनबर्गले भनेकी छन् ।
थनबर्गले हालसम्म नेपालमा १ हजार २८७ जनाको मृत्यु पुष्टि भइसकेको र ५ हजार ८३ जनाभन्दा बढी बेपत्ता तथा सम्पर्कविहीन रहेको तथा हजारौंको संख्यामा मानिसहरू घाइते भएका तथ्य औंल्याउँदै यो त्रासदीलाई ‘प्राकृतिक’ भन्नु पूर्ण रूपमा गलत हुने जिकिर गरेकी छिन् । यसलाई उनले आर्थिक रूपमा सम्पन्न देशहरूको उत्सर्जनका कारण निम्तिएको मानव-निर्मित संकटको रूपमा चित्रण गरेकी छिन् । यस विपद्को स्केल कल्पना बाहिरको रहेको बताउँदै उनले थपिन्, “यो आउँदैछ भनेर हामीले देखेका थिएनौं भन्न दुनियाँले पाउनेछैन । यो कुनै प्राकृतिक प्रकोप थिएन ।”

विकसित देशहरूले दिने आर्थिक सहयोगलाई दान वा सहायताको रूपमा लिन नहुने प्रस्ट पार्दै उनले भनिन्, “नेपाललाई जुन कुरा तिर्न बाँकी छ, त्यो जलवायु ऋण हो, जुन हानीका कारण तिर्नुपर्ने रकम हो, कुनै यस्तो उपहार होइन जुन तथाकथित विकसित देशहरूले दिने कि नदिने वा कति दिने भनेर निर्णय गरुन् । नेपाल जस्ता देशहरूको बारेमा हरेक जलवायु शिखर सम्मेलनमा कुरा गरिन्छ । तर उनीहरूसँग विरलै कुरा गरिन्छ । अरू कसैको प्रस्तुतिमा केस स्टडी बन्नु र निर्णयहरू लिने कोठामा आफ्नो आवाज हुनुमा आकाश-पातालको फरक छ ।”
बाहिरको सहायताको मात्र भर नपरी नेपालले आफ्नै स्रोत र साधनबाट गरिरहेको उद्धार तथा राहत कार्यको थनबर्गले प्रशंसा समेत गरेकी छिन् ।
नेपालले आफूले नगरेको गल्तीको सफाइ आफैं ठूलो हदसम्म गरिरहेको र बाँकी संसारलाई पनि त्यही गर्न उनले आग्रह गरेकी छन् । “हामी यो त्रासदी र जीवन तथा जीविकोपार्जनको अपूरणीय क्षतिलाई सुनेनसुने झैं र बेवास्ता गर्न दिनेछैनौं । म, विश्वव्यापी जलवायु न्याय आन्दोलनका साथमा, नेपालका जनता र अहिले यो संकट बाँचिरहेका तल्लो तटीय क्षेत्रका प्रत्येक समुदायको पक्षमा उभिएकी छु”, उनले स्पष्टरुपमा भनेकी छन् ।