
_Dinesh Rajak
काठमाडौँ । दुई महिनादेखिको खाना पकाउने ग्यासको अभाव काठमाडौँमा झन् चर्किएको छ। काठमाडौँ प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा ग्यास आपूर्ति थप प्रभावित भएको हो।
सडक भासिएर यातायात ठप्प भएपछि काठमाडौँ उपत्यकातर्फ आउँदै गरेका खाना पकाउने एलपी ग्यास बोकेका बुलेट तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधन बाटोमै रोकिएका छन्। यसले उपत्यकामा ग्यासको आपूर्ति प्रभावित हुँदा अभाव थप चर्किएको छ।
यसअघि नै ग्यासको अभाव झेलिरहेका उपभोक्तामाथि राजमार्ग अवरोधले थप समस्या निम्त्याएको छ । काठमाडौँका विभिन्न ग्यास बिक्री केन्द्रमा उपभोक्ताको भीड बढेको छ। नयाँ सडकस्थित धर्मपथ क्षेत्रमा समेत खाना पकाउने ग्यास लिन सर्वसाधारण लामबद्ध भएका छन्।
ग्यासको मूल्य बढेको र मागसमेत बढिरहेका बेला उपभोक्ता बढी मूल्य तिर्न तयार हुँदासमेत सहज रूपमा ग्यास पाउने अवस्था छैन । कतिपय उपभोक्ता ग्यासका लागि मध्यरातदेखि नै लाइनमा बस्न बाध्य भएका छन् । पछिल्लो दुई महिनादेखि काठमाडौँलगायत प्रमुख सहरका ग्यास डिलरमा लामो लाइन देखिँदै आएको छ।
खाद्यान्न आयातमा देखिएको असन्तुलनको असर तत्कालै नदेखिए पनि लामो समयदेखि रहँदै आएको खाना पकाउने ग्यासको अभाव भने झन् गहिरिँदै गएको छ। ग्यासको समस्या काठमाडौँ उपत्यकामा मात्र सीमित नभई प्रमुख सहरका डिलरहरूमा समेत उपभोक्ताको लाइन घट्न सकेको छैन।
यता, अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याउन सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक खुलाउने प्रयास गरिरहेका छन्। सडक तत्काल सञ्चालनमा आउन नसके काठमाडौँ उपत्यकामा ग्याससहित पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा थप समस्या उत्पन्न हुनसक्ने जोखिम देखिएको छ।
जनजीवन प्रत्यक्ष प्रभावित भइरहे पनि ग्यास अभावको समस्या समाधानमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै उपभोक्ताले गुनासो गरेका छन्।