
काठमाडौँ । काठमाडौँको नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्घे र सर्भेक्षक अमित कुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार जग्गा हालसाबिक गरी प्लट मिलानको काममा सहजीकरण गरिदिने भन्दै उनीहरूले सेवाग्राहीसँग घुस रकम मागेको पाइएको छ ।
नियमअनुसार गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई अनावश्यक दुःख-हैरानी दिएको र काम गरिदिएबापत घुस लिन मन्जुर गरेको पुष्टि भएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ५० हजार रुपैयाँ बिगो कायम गरी सोहीअनुसार कैद तथा जरिवाना असुल गर्न मागदाबी गरेको छ । उनीहरूविरुद्ध सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।