रसुवा बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार भन्दा बढी अझै बेपत्ता

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ९ सय ८७ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार (भदौ १५) बिहान ९ बजेसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट ९ सय ८७ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) मा २१६, नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)मा १७०, तनहुँमा ३८ र चितवनमा ३२१ शव फेला परेका छन् । चितवनमा फेला परेका शवमा विभिन्न मानव अंगसमेत समावेश छन् ।

बाढीपछि अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना तथा भन्सार कार्यालयका कर्मचारीलगायत छन् ।

सम्पर्कविहीनमध्ये ५८३ जना विदेशी नागरिक रहेका छन्  । यस्तै, विदेशी पर्यटकसँगै घुम्न गएका १६४ जना नेपाली नागरिक पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ । बाढीमा परी २७९ जना घाइते भएका छन् । तीमध्ये १६८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

उद्धार तथा राहत कार्यका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।