भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, १ हजार ६५ जनाको मृत्यु पुष्टि

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोटेकोशी बाढी तथा त्यससँगै आएको बाढीपहिरोबाट करिब १६ लाख मानिस प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको पहिलो प्रतिवेदनअनुसार भोटेकोशी-त्रिशूली नदी करिडोरमा बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको हो ।

प्राधिकरणले रसुवा र नुवाकोटलाई अति प्रभावित तथा धादिङ, गोरखा र चितवनलाई मध्यम प्रभावित जिल्लाका रूपमा वर्गीकरण गरेको छ ।

बाढीपहिरोमा परी हालसम्म १ हजार ६५ जनाको मृत्यु पुष्टि भएको छ । सबैभन्दा बढी चितवनमा ३२१ जनाको मृत्यु भएको छ । यस्तै, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको प्रतिवेदनमा उल्लेख छ ।

देशका ६२ जिल्लाबाट ३ हजार ९१६ जना बेपत्ता भएको विवरण प्राप्त भएको छ । बेपत्ता हुनेमध्ये ६२ प्रतिशत स्वदेशी पर्यटक तथा नेपालीसहितको समूह, १७ प्रतिशत सरकारी निकायका कर्मचारी र १५ प्रतिशत विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ ।

११ हजारभन्दा बढीको उद्धार

विभिन्न उद्धार अभियानमार्फत हालसम्म ११ हजार ८१४ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २५३ जना विदेशी नागरिक रहेका छन् । हवाई मार्गबाट मात्रै ३ हजार ७०२ जनाको उद्धार गरिएको छ भने उद्धारका लागि ५७३ वटा हवाई उडान सञ्चालन भएका छन् ।

खोज तथा उद्धारमा नेपाली सेनाका ८ हजार ८९६, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी २१ हजार १११ सुरक्षाकर्मी परिचालन भएका छन् । भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय उद्धार टोलीसमेत खोज तथा उद्धार कार्यमा संयुक्त रूपमा परिचालित छन् ।

विभिन्न स्वास्थ्य संस्थामा २७९ जना घाइतेको उपचार भएकोमा ७९ जना अझै उपचाररत छन् । १६८ जना उपचारपछि डिस्चार्ज भएका छन् भने उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ । नेपाली सेनाले प्रभावित क्षेत्रमा थप २ हजार ७४० जनालाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।

पुल, घर र सञ्चार पूर्वाधारमा ठूलो क्षति

बाढीले ४१ वटा पक्की पुल पूर्ण रूपमा बगाएको छ भने थप चारवटा पुलमा क्षति पुगेको छ । नुवाकोटमा मात्रै १ हजार २६७ घर पूर्ण रूपमा र १ हजार २५३ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

स्याटेलाइट म्यापिङका आधारमा भोटेकोशी-त्रिशूली करिडोरको बाढी प्रभावित क्षेत्रमा ४ हजार ६८९ वटा भवन जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल टेलिकमका ११० वटा र एनसेलका ७८ वटा मोबाइल टावरमा समेत क्षति पुगेको छ ।

रसुवाको अति प्रभावित गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका ३ हजार ७०२ घरधुरीका १४ हजार ४६१ नागरिक ६ दिनदेखि सडक, विद्युत् र सञ्चार सेवाबाट विच्छेद भएका छन् । रसुवाका मुख्य राजमार्गसमेत अनिश्चितकालका लागि बन्द रहेका छन् ।

उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । नुवाकोटको टोखा-छहरे सडकखण्डअन्तर्गत घट्टेखोलामा बाढी तथा पहिरोको सम्भावित जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । बेलकोटगढी-१० स्थित पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रतिवेदनमा जनाइएको छ ।

७८३ मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजना प्रभावित

बाढीका कारण रसुवागढी, रसुवा-भोटेकोशी, चिलिमे, लाङटाङ खोला, माथिल्लो त्रिशूली-२, माथिल्लो त्रिशूली-१, मैलुङ खोला, माथिल्लो त्रिशूली-३ए, माथिल्लो त्रिशूली-३बी, मध्य त्रिशूली गंगा, त्रिशूली, देवीघाट र सुपर त्रिशूलीलगायत जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

जलविद्युत् तथा सोलार गरी कुल ७८३.३८५ मेगावाट जडित क्षमताका आयोजना प्रभावित भएका छन् । आयोजनासँगै सबस्टेसन र प्रसारण लाइनमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

विद्यालय र स्वास्थ्य संस्थामा पनि क्षति

रसुवा, नुवाकोट र धादिङका १९ वटा विद्यालयमा अध्ययनरत ६ हजार ९०१ विद्यार्थी बाढीबाट प्रभावित भएका छन् । तीमध्ये आठ विद्यालय पूर्ण रूपमा र आठ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने तीनवटा विद्यालय मात्र सुरक्षित रहेको प्रतिवेदनमा उल्लेख छ ।

रसुवाका स्याफ्रुबेँसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क (रसुवागढी) र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा ध्वस्त भएका छन् । गल्छीको बैरेनी अस्पताल र चरौँदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आंशिक क्षति पुगेको छ ।

नुवाकोटको धुङ्गे र विदुरमा रहेका दुईवटा फोहोरपानी प्रशोधन केन्द्र पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । विदुर खानेपानी आयोजनामा क्षति पुग्दा करिब ४.५ किलोमिटर पाइपलाइन र तीनवटा सम्प वेल बगेका छन् । यसबाट करिब ४ हजार घरधुरी प्रभावित भएका छन् । त्रिशूली कोलोनी, देवीघाट र बेत्रावती खानेपानी आयोजना प्रभावित हुँदा थप ४६५ घरधुरीमा असर परेको छ ।

यस्तै, टिमुरे, स्याफ्रुबेँसी, मैलुङ र बन्दरेमा रहेका लाङटाङ राष्ट्रिय निकुञ्जका कार्यालय तथा भवन पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । नुवाकोटस्थित कृषि विकास केन्द्र र टिमुरेस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयमा समेत बाढीले क्षति पुर्‍याएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

सिफारिस