विपत्तिको बेला विभाजन र राजनीतिक टकरावमा अल्झिने होइनः राष्ट्रपति पौडेल

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिको कठिन घडीमा विभाजन, एकअर्कामाथि दोषारोपण तथा राजनीतिक विवादमा अल्झिने समय नभएको बताएका छन् ।

सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको संकट सामना गर्न राष्ट्रिय एकता र ऐक्यबद्धता आवश्यक रहेको बताए ।

‘यो विभाजनको समय होइन । एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन । यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो,’ उनले भने ।

रसुवालगायतका क्षेत्रमा बाढीबाट उत्पन्न विपत्तिको सामना गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । राष्ट्रपति पौडेलले सम्पूर्ण राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय तथा आम नागरिकलाई विपत्तिको सामना गर्न एकजुट हुन आह्वान गरे ।

उनले विपत्तिपछिको पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्नुपर्ने बताए । प्रभावित क्षेत्रको पुनर्निर्माणसँगै मुलुकको समग्र विकासको मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

‘यो समय पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो,’ पौडेलले भने, ‘हामी पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ ।’

राष्ट्रपति पौडेलले विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्र र सरोकारवाला पक्षलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा समेत जोड दिए ।

सम्बन्धित खबर

सिफारिस