
काठमाडौँ । त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका विद्युत् कर्मचारी तथा इन्जिनियरहरूको जीवितै उद्धार हुन थालेपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीका परिवारमा पनि आशा पलाएको छ ।
त्रिशूली-३ ‘ए’ को सुरुङबाट कर्मचारीहरूलाई जीवितै उद्धार गर्न सम्भव भएको घटनाले रसुवागढीमा फसेकाहरू पनि जीवितै रहेको हुन सक्ने परिवारको आशा बढाएको हो ।
उनीहरूले सुरुङभित्र रहेका आफ्ना आफन्तको तत्काल खोज तथा उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । रसुवागढी जलविद्युत् आयोजनामा विगत ६ वर्षदेखि अपरेशन इन्जिनियरका रूपमा कार्यरत २९ वर्षीय समिर लामिछानेका बुवा माधव लामिछानेले छोरा अझै जीवितै रहेको हुन सक्ने भन्दै तत्काल उद्धारका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् ।
समिर आयोजनाको निर्माण सुरु भएदेखि नै त्यहाँ कार्यरत थिए । बाढी आएको दिनसमेत उनी ड्युटीमै रहेको परिवारले जनाएको छ । तर भोटेकोशी नदीमा बाढी उर्लिएपछि उनी परिवारको सम्पर्कमा छैनन् ।
रसुवागढीमा फसेका अन्य कर्मचारीका परिवारले भने सरकारले उद्धार कार्यमा पर्याप्त तदारुकता नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले लामो समयदेखि आफ्ना आफन्त आयोजनाभित्र फसेको जानकारी हुँदाहुँदै पनि राज्यले प्रभावकारी खोजी नगरेको गुनासो गरेका छन् ।
‘सुरुङभित्र मानिस जीवितै हुन सक्छन् भन्ने सम्भावना देखिइसकेको छ । अब पनि उद्धारमा ढिलाइ किन?’ परिवारका सदस्यहरूको प्रश्न छ ।
उनीहरूले एक ठाउँमा लगातार नौ दिनसम्म उद्धार तथा खोजीको प्रयास गर्न सकिने तर अर्को ठाउँमा समयमै ‘भेटिएन, सकिएन’ भन्दै फर्किने अवस्था न्यायोचित नभएको बताएका छन् ।
‘उद्धार सजिलो ठाउँमा गएर मात्र गरिने होइन । फुटेका ढुंगा पन्छाएर, बाटो बनाएर र जोखिम मोलेर जहाँ मानिस फसेका छन्, त्यहाँ पुगेर खोज्नु नै उद्धारको अर्थ हो,’ उनीहरूको भनाइ छ ।
परिवारले सरकारसँग कुनै गुनासो वा क्षतिपूर्तिभन्दा अहिले आफ्ना आफन्तको जीवन बचाउन प्राथमिकता दिन आग्रह गरेका छन् । उनीहरूले राज्यसँग हात जोडेर आफ्ना छोरा, दाइ तथा आफन्तलाई बचाइदिन अपिल गरेका छन् ।
‘हाम्रो मान्छे बचाइदिनुस् । रसुवागढी जानुहोस् । चाँडो जानुहोस् । फेरि खोज्नुहोस् । सायद अझै कसैको सास बाँकी छ कि,’ परिवारका सदस्यहरूको भावुक आग्रह छ ।