
सिन्धुपाल्चोक । रसुवामा आएको विनाशकारी बाढीपछि चीनतर्फ फसेका थप १५५ जना नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन् । चिनियाँ पक्षले उनीहरूलाई सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो ।
बाढीपछि चीनतर्फ फसेका नेपालीलाई स्वदेश फर्काउने क्रममा बिहीबार पहिलो दिन ११४ जना र शुक्रबार दोस्रो दिन १५५ जना गरी हालसम्म २६९ जना नेपाल फर्किएका छन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार स्वदेश फर्किएका १५५ जनामध्ये १४५ जना रसुवाका नागरिक छन् । त्यस्तै, धादिङका एक जना र काठमाडौँका नौ जना रहेको उनले जानकारी दिए ।
चिनियाँ पक्षले स्वदेश फर्काइएका नागरिकको राहदानी नम्बरलगायत आवश्यक विवरणसमेत नेपाली अधिकारीलाई उपलब्ध गराएको प्रजिअ घिमिरेले बताए ।
नेपाल आइपुगेका नागरिकले आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई काठमाडौँ पठाइनेछ । पहिलो दिन फर्किएका नेपालीलाई भोटेकोशी गाउँपालिकाले काठमाडौँसम्म पुग्न यातायातको व्यवस्था गरेको थियो भने शुक्रबार फर्किएका नागरिकका लागि उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले यातायातको व्यवस्था गरेको छ ।
रसुवामा आएको बाढीका कारण ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक प्रभावित भएका थिए । बाढीपछि चीनतर्फ फसेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया जारी रहेको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार बाढीका कारण चीनतर्फ करिब ८ सय नेपाली फसेका छन् । उनीहरूलाई क्रमशः तातोपानी नाका हुँदै स्वदेश फर्काउने काम भइरहेको छ ।