
काठमाडौँ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका विद्युत प्राधिकरणका कर्मचारी र इन्जिनियरको खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । सुरुङभित्र अझै दर्जनौँ मानिस फसेको आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको हो ।
सुरुङभित्रको अवस्था चुनौतीपूर्ण रहेकाले उद्धार टोलीले सावधानीपूर्वक खोजी गरिरहेको जनाइएको छ । यसअघि शुक्रबार बिहान आयोजनाका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई सुरुङबाट जीवितै उद्धार गरिएको थियो । उनीहरूको उद्धारसँगै सुरुङभित्र फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास थप तीव्र बनाइएको छ ।
बाढीका कारण आयोजनाको क्षेत्रमा ठूलो क्षति पुगेपछि सुरुङभित्र फसेकाहरूको अवस्था यकिन गर्न तथा सम्भावित अन्य व्यक्तिको खोजी गर्न सुरक्षाकर्मीको संयुक्त टोली परिचालन गरिएको हो ।
उद्धार टोलीले सुरुङको विभिन्न भागमा खोजी गर्दै फसेका अन्य व्यक्तिको अवस्थाबारे जानकारी संकलन गर्ने र भेटिए तत्काल उद्धार गर्ने कार्य जारी राखेको छ ।









