भोटेकोशी बाढीः मृतकको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ अझै बेपत्ता

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २ सय ९३ पुगेको छ । शुक्रबार साँझ ४ बजेसम्म विभिन्न जिल्लामा गरी १ हजार २ सय ९३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२१ र नवलपरासी पश्चिममा १९४ जनाको शव फेला परेको छ। भारतमा फेला परेको १८ शवसमेत नवलपरासी पश्चिममा बुझाइएको प्रहरीले जनाएको छ ।

फेला परेका शवको पहिचान तथा व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म २२२ महिला, ३५५ पुरुष र पहिचान नखुलेका ४५३ गरी १ हजार ३० शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ ।

शव पहिचानका लागि मृतकका १ हजार २६० र आफन्तका ८४६ गरी कुल २ हजार १०६ वटा डीएनए नमुना संकलन गरिएको छ । पहिचान हुन नसकेका १ हजार २६३ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि प्रहरीले हालसम्म ७ हजार ९१२ कर्मचारी परिचालन गरेको छ ।

यस्तै, बाढीपछि बेपत्ता भएका ४ हजार ८९८ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा ३ हजार ६५५ जनालाई राखिएको छ ।

प्रहरीले बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै स्थानीयवासी तथा विभिन्न निकायसँगको समन्वयमा उद्धार र खोजी कार्य गरिरहेको छ । बाढीका कारण अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस