
काठमाडौं । मुलुकमा भोटेकोशीमा आएको बाढीले सिथिल बनाएको विपत्तिको आज सातौं दिन पुगेको छ । अचानक आएको यो बाढीको कारणबारे जलवायु विज्ञ तथा हिमाल र हिमनदीका विशेषज्ञहरू अध्ययनमा जुटेका छन् ।
रसुवा, चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्वलगायतका स्थानहरूमा बाढीका कारण ज्यान गुमाएकाहरूको शव फेला पर्ने क्रम जारी छ । नेपाली सेनासहितका स्वयंसेवकहरू घाइतेहरूको उद्धार तथा खोजी कार्यमा अझै खटिरहेका छन् ।
अधिकांश उद्धार उडानहरू रसुवा, टिमुरे, त्रिशूली तथा धुन्चे क्षेत्रमा केन्द्रित गरिएको छ । यो घटनामा मृत्यु हुने, घाइते हुने र सम्पर्कबाहिर रहनेहरूको एकीकृत विवरण भने अझै पूर्ण रूपमा संकलन भइसकेको छैन । सरकारले राहत तथा सहायता वितरणका लागि एकद्वार नीति कायम गरेको छ भने यसका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मंगलबार दिउँसो १ बजेसम्मको अद्यावधिक सूचना अनुसार, यस विपद्मा परि हालसम्म १ हजार ३ वटा शव फेला परेका छन् भने ११ हजार ८८४ जनाको उद्धार तथा अन्य सहयोग गरिएको छ । साथै, घटनामा ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन् र २७९ जना घाइते भएका छन् । उद्धार तथा खोजी कार्यका लागि जम्मा २१ हजार ३१४ जना सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कलेजकालीन समयमा लिखित एक कविता अहिले सामाजिक सञ्जालमा देखिन थालेको छ । ‘शीर्षकविहीन सो कविताको पहिलो पंक्ति ‘एउटा बाढी कुर्दै छु, जसले सबैथोक बगाएर लगोस्’ भन्ने रहेको छ ।
यो कविताले सबैथोक बगाएर लैजाने प्रलयको भाव बोकेको छ। यद्यपि, साहित्यिक सृजनाको कालखण्ड, कलात्मक पक्ष र सिर्जना गरिएको सन्दर्भ वर्तमानको भौतिक विपद्भन्दा पूर्णतया भिन्न हुन् सक्छ। तर हाल मुलुकमा भोटेकोशी बाढीले सिर्जना गरेको त्रासदीपूर्ण वातावरण र यसले निम्त्याएको मानवीय क्षतिबीच यो कविताको भावपक्ष संयोगवश मिल्न पुगेको छ। यही वैचारिक समानताकै कारण सामाजिक सञ्जालमा यस कविताको चर्चा परिचर्चा र टीकाटिप्पणीहरू तीव्र रूपमा भइरहेका छन्।
यो कविता बालेन्द्र शाह (बालेन) द्वारा लिखित तथा बुक हिल प्रकाशनबाट सन् २०२४ (वि.सं. २०८१ वैशाख) मा प्रकाशित ‘अश्र’ कवितासङ्ग्रह नामक पुस्तकमा संग्रहित छ । रु. ६६६ मूल्य रहेको यस संग्रहमा प्रेम, वियोग (त्रासदी), राजनीति र दर्शन गरी चार खण्डमा विभाजित १९५ वटा कविताहरू रहेका छन् ।
प्रस्तुत छ कविता:
एउटा बाढी कुर्दै छु
जसले सबै थोक बगाएर लगोस्
एउटा यस्तो प्रलय
जसले सबै रोग लगाएर लगोस्
कुनै अङ्ग बाँकी नहोस
कुनै भावना थाँती नहोस्
सबै माया, स्नेह, लोभ हराएर मरोस्
