नुवाकोट, धादिङ र रसुवामा बाढीको ठूलो क्षति, ७ हजारभन्दा बढी घर प्रभावित

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नुवाकोट, धादिङ र रसुवा सबैभन्दा बढी प्रभावित भएका छन् । शहरी विकास तथा भवन निर्माण विभागका अनुसार यी तीन जिल्लामा मात्रै ९ हजारभन्दा बढी निजी आवासमा क्षति पुगेको छ ।

विभागको तथ्यांकअनुसार नुवाकोटमा ३ हजार ९७७, धादिङमा ३ हजार ४५१ र रसुवामा १ हजार ७७९ वटा निजी आवासमा क्षति पुगेको छ । यस्तै, गोरखामा २६३ र चितवनमा ६१ वटा घर क्षतिग्रस्त भएका छन् ।

निजी आवासतर्फ मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बाढीबाट सरकारी भवन, विद्यालय तथा अन्य सार्वजनिक संरचना पनि प्रभावित भएका छन् । विभागका अनुसार ४५ वटा सरकारी तथा सार्वजनिक संरचनामा आंशिक तथा पूर्ण क्षति पुगेको छ । ती संरचनामा भएको क्षतिको आर्थिक भार करिब साढे ४ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

बाढीले घर बगाएका तथा बस्न नमिल्ने गरी क्षति भएका परिवारका लागि तत्काल अस्थायी आवास निर्माण गर्न करिब ९० करोड रुपैयाँ आवश्यक पर्ने विभागले जनाएको छ ।