रसुवा बाढीः पहिचान नखुलेका ६८४ शव व्यवस्थापन, ४ हजार बढी बेपत्ताको खोजी कार्य जारी

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा फेला परेका पहिचान नखुलेका ६ सय ८४ शव व्यवस्थापन गरिएको छ । पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी शव व्यवस्थापन गरिएको हो ।

नेपाल प्रहरीले दिएको विवरणअनुसार व्यवस्थापन गरिएका शवमध्ये १ सय २१ महिला, १ सय ९८ पुरुष र ३ सय ६५ जनाको लिङ्ग पहिचान खुल्न सकेको छैन । यस्तै, पहिचान हुन नसकेका ८ सय ६९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रबाट हालसम्म ४ हजार ५ सय ३० जनाको उद्धार गरिएको छ भने बेपत्ता ४ हजार ६ सय ६ जनाको खोजी कार्य जारी छ ।

विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल ३ हजार ४ सय ५३ जनालाई राखिएको छ। तीमध्ये नुवाकोटमा २ हजार ४ सय ६६, धादिङमा २ सय ६०, रसुवामा ३ सय ९८ र काठमाडौँमा ३ सय २९ जना रहेका छन् ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, सम्बन्धित निकाय तथा स्थानीयवासीसँग समन्वय गरी उद्धार तथा खोजी कार्य सञ्चालन गर्ने र बाढीका कारण अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कार्यसमेत गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस