‘आमा बेहोस हुन्थिन्, म पनि पागलजस्तै भएको थिएँ’-छोरा जीवितै भेटिए पछि रामफलको परिवारमा उत्सव

दियोपोस्ट संवाददाता

काठमाडौँ । त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार भएपछि सप्तरीस्थित तिलाठी कोइलाडी गाउँपालिका-४ का ३२ वर्षीय सञ्जयकुमार साहको परिवारमा उमंग छाएको छ । रसुवाको बाढीपछि १० दिनदेखि सम्पर्कविहीन रहेका सञ्जय सकुशल भेटिएकोपछि उनका बुवा रामफल साहले परिवारमा उमंग छाएको बताएका हुन् ।

छोरा जीवितै भेटिएको खबर पाएपछि रामफलले आफूहरू निकै खुसी भएको बताए । छोराको खोजीका लागि परिवारले पूजापाठसमेत गरेको उनले सुनाए ।

‘छोरा भेटिएपछि हामी धेरै खुसी भएका छौँ । पूजापाठ गर्‍यौँ । गाउँसमाजका मानिसहरू आएर हामीलाई सम्झाइबुझाइ गरे,’ रामफलले भने, ‘अहिले मेरो भाइ र अर्को एक जना काठमाडौँका लागि हिँडिसकेका छन् ।’

सञ्जयको खबर नआउँदासम्म घरको अवस्था अत्यन्तै पीडादायी रहेको उनले बताए । छोरा सम्पर्कविहीन भएपछि परिवारका सदस्यसँगै गाउँसमाजका मानिसहरू पनि शोकमा डुबेको उनको भनाइ छ ।

‘धेरै दुःख थियो हजुर । गाउँसमाजका सबै मानिस आएर हाम्रो घर-आँगनमा आँसु बगाइरहेका थिए,’ उनले भने, ‘उसकी आमा त बेहोसै हुन्थिन् । अस्पतालसम्म पुर्‍याउनुपर्ने अवस्था थियो । बेहोस भएर पागलजस्तै भएकी थिइन् । म पनि पागल बनेजस्तो भएको थिएँ ।’

१० दिनपछि सञ्जय जीवितै भेटिएको खबरले भने परिवारमा खुसीको सीमा नै नरहेको उनले बताए । ‘उ भेटियो भन्ने सुन्नेबित्तिकै महाखुसी भयो । मनमा आगो जस्तो बलिरहेको थियो,’ रामफलले भावुक हुँदै भने, ‘अब आफ्नो छोरालाई कहिले देखौँला, कसरी देखौँला भन्ने आशा छ ।’

सञ्जयसहित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीका कारण फसेका व्यक्तिहरूको उद्धार कार्य जारी छ ।

सम्बन्धित खबर

सिफारिस