‘मेरो छोरा सुरुङभित्र जीवितै होला, उद्धार भयो भने अझै बाँच्न सक्छ’-आठ दिनदेखि छोराको पर्खाइमा माधव

रीता बुढाथोकी

रसुवा । भोटेकोशीमा विनाशकारी बाढी आएको आठ दिन बितिसकेको छ । बाढीले रसुवाको टिमुरे, रसुवागढी र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । कतिपय परिवारले आफ्ना आफन्त गुमाएका छन् । तर, हराएका व्यक्तिका आफन्तहरु भने अझै उनीहरू फर्केर आउने आशामा बाटो हेरिरहेका छन् ।

यस्तै प्रतीक्षामा छन् उत्तरगंगा गाउँपलिका-४, रसुवाका माधव लामिछाने ।

उनका २९ वर्षीय छोरा समिर लामिछाने रसुवागढी जलविद्युत आयोजनामा अपरेशन इन्जिनियरका रूपमा विगत ६ वर्षदेखि कार्यरत थिए । निर्माणको सुरुवाती चरणदेखि नै आयोजनामा काम गर्दै आएका समिर बाढी आएको दिन पनि आफ्नो ड्युटीमै थिए । तर भोटेकोशीमा बाढी उर्लिएपछि उनी परिवारको सम्पर्कमा छैनन् ।

सरकारले उद्धारका लागि पर्याप्त प्रयास नगरेको महसुस आफुहरुलाई भएको उनको गुनासो छ । तर, आठ दिनसम्म छोराको कुनै खबर नआए पनि माधवको आशा भने अझै टुटेको छैन । ‘उनीहरू अझै जीवित छन् भन्ने आशा छ,’ माधवले सुनाए ।

आठ दिन बितिसक्दा पनि समिरको कुनै खबर आएको छैन । तर उनका बुवा माधवको मनले अझै हार मानेको छैन । ‘मेरो छोरा सुरुङभित्रै जीवित छ भन्ने आशा अझै मरेको छैन,’ माधव भन्छन्, ‘छिटोभन्दा छिटो उद्धार गरेर उसलाई बाहिर निकालिदिए हुन्थ्यो ।’

बाढी आउनुभन्दा अघिल्लो दिन बेलुकीसम्म समिरले आमासँग कुराकानी गरेका थिए । त्यसपछि भने परिवारसँग उनको सम्पर्क टुट्यो । उनकी आमा छोराको अन्तिम बोली सम्झेर भक्कानिन्छिन् ।

बाढी आएको दिन कान्छो छोरा बल्लतल्ल सुरक्षित स्थानमा पुगे । उनले बुवा माधवलाई फोन गरेर भने, ‘बाबा, दाइलाई फोन गर्नुहोस् न ।’ माधवले तत्काल समिरलाई फोन गरे । तर फोन लागेन । त्यसपछि परिवारका सदस्यले पटक-पटक फोन गरिरहेका छन् ।

‘त्यसदिनदेखि अहिलेसम्म फोन लागेको छैन,’ माधव भन्छन्, ‘कहाँ छ, कस्तो अवस्थामा छ, केही थाहा छैन ।’

समिर परिवारका जेठा छोरा हुन् । परिवारले आउँदो मंसिरमा समिरको विवाह गरिदिने तयारी गरेका थिए । तर समिरसंगको सम्पर्क विच्छेद भएपछि माधव दम्पत्तिमा पीडा थपिएको छ । ‘ऊ २९ वर्षको भयो । अब केही समयमा उसको बिहे गराउने तयारीमा थियौँ,’ माधव सुनाउँछन्, ‘तर छोरा नै सम्पर्कमा छैन । सबैलाई हारगुहार गर्‍यौँ, तर उद्धार भएन ।’

समिरको अवस्था पत्ता लगाउन परिवारले सम्भव भएसम्म सबै ठाउँमा हारगुहार गरेको छ । रसुवागढी जलविद्युत आयोजनादेखि जिल्ला प्रशासन, सुरक्षाकर्मी, राजनीतिक दलका नेता र सांसदसम्मलाई समेत उनीहरूले आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेका छन् ।

तर सरकार र सम्बन्धित निकायले उद्धारमा पर्याप्त तदारुकता नदेखाएको माधवको गुनासो छ । ‘हामीले आयोजनालाई भन्यौँ, सिडिओ, सहायक सिडिओदेखि सुरक्षाकर्मी र नेताहरूसम्मलाई भन्यौँ । उद्धारको काम छिटो गरिदिनुस् भनेर हारगुहार गर्‍यौँ। तर भरपर्दो पहल भएको महसुस भएन,’ उनले भने ।

बाढीका बेला पावर हाउसमा ड्युटीमा रहेका कर्मचारीबाहेक बाहिर रहेका कर्मचारीहरू पनि सुरक्षित स्थान खोज्दै पावर हाउसतर्फ पसेका हुन सक्ने उनको अड्कल छ । आयोजनाले पावर हाउसमा १४-१५ जना रहेको बताएको भए पनि वास्तविक संख्या अझ बढी हुन सक्ने उनको आशंका छ ।

उद्धार टोली २४० मिटर पुगेर फर्कियो
माधवका अनुसार बाढी आएको छैटौँ दिन नेपाली सेनाको टोली सुरुङभित्र प्रवेश गरेको थियो । तर करिब २४० मिटर पुगेपछि टोली फर्किएको थियो । यही कुराले माधवको मनमा अर्को प्रश्न जन्माएको छ ।

उनी भन्छन्, ‘पावर हाउस सुरु हुने स्थान नै करिब २५० मिटरभित्र पर्छ । पावर हाउसको लम्बाइ पनि करिब ७०-८० मिटर रहेको छ । उनीहरू पावर हाउसको मुखसम्म पुग्न १० मिटरजति बाँकी छँदै उद्धार सकियो भनेर फर्किए ।’

माधवलाई सबैभन्दा बढी पीडा त्यतिबेला भयो, जब सरकारले सुरुङभित्र मानिस नभेटिएको भन्दै उद्धार रोकिएको खबर पाए । ‘सुरुङको मुखबाट २४० मिटर मात्रै गएर कसरी त्यहाँ कोही छैन भनेर भन्न मिल्छ?’ उनी प्रश्न गर्छन् ।

सरकारले उद्धारका लागि पर्याप्त प्रयास नगरेको महसुस आफुहरुलाई भएको उनको गुनासो छ । तर, आठ दिनसम्म छोराको कुनै खबर नआए पनि माधवको आशा भने अझै टुटेको छैन । ‘उनीहरू अझै जीवित छन् भन्ने आशा छ,’ माधवले सुनाए ।

सुरुङभित्र पर्याप्त ठाउँ र पानीको स्रोत भएकाले मानिस केही दिनसम्म जीवित रहन सक्ने आशा र सम्भावना रहेको उनले बताए । ‘थुप्रै इन्जिनियरहरूले मलाई फोन गरेर सुरुङभित्र १२-१५ दिनसम्म पनि मान्छे बाँच्न सक्छन् भन्नुभएको छ,’ उनी भन्छन्, ‘त्यहाँ ठूलो ठाउँ छ । भित्ताबाट पानी रसाइरहेको हुन सक्छ । उनीहरूसँग केही खानेकुरा पनि हुन सक्छ। त्यसैले उद्धार भयो भने उनीहरू बाँच्न सक्छन् भन्ने हाम्रो आशा छ।’

उद्धारमा सरकारी संयन्त्रले हात झिकेको भन्ने खबरले भने माधव थप आक्रोशित बनेका छन् । ‘सरकारले सक्दैनौँ भनेर सुरुमा नै भनेको भए हामीले छुट्टै तयारी गथ्र्यौँ । हिजोबाट सरकारले हामी यहाँ गर्न सक्दैनौँ, आफैँ गर भनेर भनेको सुनिन्छ । यदि सुरुमै आफैँ गर भनेको भए आयोजनाले पनि त्यहीअनुसार तयारी गर्थ्यो। अहिले आएर त्यसो भन्नु भनेको के हो?’ उनी प्रश्न गर्छन् ।

‘त्यहाँ भएका सबै मान्छे जीवित भेटिउन् भन्ने हाम्रो चाहना हो,’ उनी भन्छन्, ‘एउटा ठाउँमा मात्रै सबै शक्ति केन्द्रित गरेर अर्को आयोजनामा उद्धार नै नहुनु दुःखद हो।’

घर सुरक्षित, तर परिवारभित्रै शोक
माधवको आफ्नै घर बाढीबाट जोगिएको छ । खोलाभन्दा करिब डेढ किलोमिटर माथि घर भएकाले बाढीले प्रत्यक्ष क्षति पुर्‍याउन सकेन ।

तर घर जोगिए पनि उनको परिवार पीडामुक्त छैन । ‘हाम्रै परिवारका दुई जनालाई बाढीले बगायो,’ उनी भन्छन्, ‘हाम्रै ४ नम्बर वडाका सयभन्दा बढी मानिस बेपत्ता छन् । अहिलेसम्म एक जनाको पनि शव भेटिएको छैन ।’

उनी स्थानीय तह, सुरक्षाकर्मी र राज्यको खोज तथा उद्धार प्रयासप्रति पनि असन्तुष्ट छन् । उनका अनुसार बेपत्ता भएकाहरूको खोजीमा राज्यको उपस्थिति अत्यन्त न्यून देखिएको छ । कतिपय ठाउँमा स्थानीयवासी आफैँ शव खोज्न र चिनजानका मानिसको शव उठाउन बाध्य भएको उनको भनाइ छ ।

‘स्थानीय जनता गएर चिनेको मान्छेको लाश उठाउन खोज्दा पनि प्रहरीले शव उठाउन दिएको छैन । उनी भन्छन्, ‘लाशहरू त्यहीँ कुहिइरहेका छन् । कुनै पनि लास सद्दे छैनन् ।’

रुवाबासीमा बितिरहेको रसुवा
माधवका शब्दमा अहिले रसुवाको अवस्था बयान गर्न सजिलो छैन । बाढीले घर, बाटो, पुल र संरचना मात्रै बगाएको छैन, कैयौँ परिवारको भविष्यसमेत बगाएको छ । कतै आफन्तको शव भेटिएको छ, कतै शवसमेत भेटिएको छैन । कतिपय परिवार आफ्ना प्रियजनको मृत्यु स्वीकार गर्न बाध्य छन् भने कतिपय भने आफन्तहरु अझै फर्किने आशामा छन् ।

बाढीबाट उद्धार गरिएकाहरूलाई होल्डिङ सेन्टरमा राखिएको छ । तर त्यहाँ पनि पीडा उस्तै छ । ‘कोहीको बाबा–आमा छैनन्, कोहीका छोराछोरी छैनन्, कोहीको केही बाँकी छैन,’ माधव भन्छन्, ‘होल्डिङ सेन्टरमा पनि सबैको रुवाबासी छ । यहाँको अवस्था बिजोग छ।’

आफ्नै छोराको खबर पर्खिरहेका माधव भने अहिले पनि एउटा आशामा अडिएका छन्-समिर फर्केर आउनेछन् ।

उनलाई थाहा छैन, छोरा कहाँ छन् । थाहा छैन, सुरुङभित्र उनको अवस्था कस्तो छ । तर आठ दिनसम्म खबर नआए पनि उनले आशाको ढोका भने बन्द गरेका छैनन् । भन्छन्, ‘हामीलाई अझै आशा छ । टनेलभित्र उनीहरू जीवितै होलान् भन्ने आशा मरेको छैन । छिटोभन्दा छिटो उद्धार होस्, हामी यही पर्खाइमा छौँ ।’