गण्डकीमा एमालेले छाडेको मन्त्रालयमा देवकोटा मन्त्री बन्दै

दियोपोस्ट संवाददाता

पोखरा । गण्डकीमा एमालेले छोडेको मन्त्रालयमा फणिन्द्र देवकोटा नियुक्त हुने भएका छन् । गण्डकी प्रदेशमा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटा नियुक्त हुन लागेका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई आजै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री सचिवालयका अनुसार आजै नयाँ मन्त्रीको शपथ गराउने तयारी गरिएको छ ।

देवकोटालाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे भने टुंगो लागिसकेको छैन । हाल गण्डकी प्रदेशमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, भूमि व्यवस्था कृषि तथा सहकारी, स्वास्थ्य तथा उद्योग र पर्यटन मन्त्रालय रिक्त छन् ।

केन्द्रमा भएको निर्णयअनुसार गण्डकी सरकारमा रहेका एमालेका चारैजना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए ।

देवकोटा यसअघि गण्डकी प्रदेश सरकारमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री थिए । जेनजी आन्दोलनपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारबाहिर रहे पनि उनले मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारलाई समर्थन गर्दै आएका थिए ।