
काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटको तारकेश्वर गाउँपालिकाका प्रभावित क्षेत्रका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिएको छ ।
बाढीका कारण नुवाकोटका विभिन्न स्थानीय तहका विद्यालयसमेत प्रभावित भएका छन् । विदुर नगरपालिका र किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द छन् भने बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चितकालका लागि स्थगित गरेका छन् ।
विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठका अनुसार बाढीका कारण विद्यार्थी, शिक्षक तथा अभिभावकसमेत प्रभावित भएका छन् । विद्यालयका भवन, सडक तथा पुलमा क्षति पुगेकाले आवतजावतमा समेत कठिनाइ भएको छ । तत्काल विद्यालय सञ्चालन गर्ने अवस्था नरहेको उनले बताए ।
उनका अनुसार दैनिक जनजीवन सामान्य बन्दै गएपछि र नदी वारपार गर्न सक्ने अवस्था सिर्जना भएपछि मात्रै विद्यालय सञ्चालन गरिनेछ ।
त्रिशूली नदीमा आएको बाढीबाट सबैभन्दा बढी प्रभावित विदुर नगरपालिकाभित्र सञ्चालित ८३ विद्यालयमध्ये करिब एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन् । शिक्षा शाखाको तथ्यांकअनुसार चारवटा विद्यालयका भवन पूर्ण रूपमा क्षति भएका छन् ।