
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यससँगै गएको बाढीपहिरोमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार १२७ वटा शव फेला परेका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ३१ बालक, ४५ बालिका, २२७ महिला, ३९७ पुरुष र ४२७ वटा आंशिक मानव अंग रहेका छन् ।
हालसम्म पहिचान खुलेका ९५ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ । यस्तै, ९११ वटा शवको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । पहिचान हुन बाँकी शवको विवरण वेबसाइटमा समेत अपलोड गरिएको छ।
प्रहरीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ।
यस्तै, विपद्मा परी ४ हजार ८५८ जना अझै बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा २ हजार ४४५ जना स्वदेशी र ५८३ जना विदेशी नागरिक रहेको विवरणमा उल्लेख छ। थप १ हजार ३५० जनाको फोनमार्फत बेपत्ता भएको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म ६ हजार ५४१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ४ हजार ८६ पुरुष, १ हजार ९२२ महिला, ५३३ जनाको लिंग नखुलेको र ५८० जना विदेशी नागरिक रहेका छन्।
प्रभावित क्षेत्रमा खोज, उद्धार तथा बेपत्ताको अवस्था पत्ता लगाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
