
काठमाडौँ । खाद्य स्वच्छता तथा गुण नियन्त्रण विभागले काठमाडौँका विभिन्न खाद्य व्यवसायमा आकस्मिक अनुगमन गरी स्वच्छता तथा गुणस्तरमा देखिएका कमजोरी सुधार गर्न निर्देशन दिएको छ ।
प्राप्त गुनासोका आधारमा विभाग, काठमाडौँ महानगरपालिका लगायतको बजार अनुगमन टोलीले मंगलबार काठमाडौँ-१ स्थित कृष्ण बेकरी एण्ड कन्फेक्सनरी र काठमाडौँ-२८ स्थित संयोग ब्वाइज होस्टेलमा अनुगमन गरेको हो ।
कमलपोखरी, कृष्ण पाउरोटी चोकमा रहेको कृष्ण बेकरी एण्ड कन्फेक्सनरीमा बेकरीजन्य खाद्य पदार्थमा ढुसी भेटिएको गुनासो आएपछि अनुगमन गरिएको विभागले जनाएको छ । अनुगमनका क्रममा बेकरीजन्य खाद्य पदार्थमा ढुसी भेटिनुका साथै भण्डारण व्यवस्था सन्तोषजनक नपाइएको जनाएको छ । सरसफाइको अवस्था सामान्य रहे पनि कीट नियन्त्रणको व्यवस्था हुँदाहुँदै केही मरेका कीरा भेटिएको र त्यसको उचित व्यवस्थापन नगरिएको विभागले जनाएको छ ।
विभागले उत्पादन गरिने प्रत्येक खाद्य पदार्थका लागि आवश्यक अनुमतिपत्र लिन, खाद्य स्वच्छता कायम गर्न तथा कीट नियन्त्रण र भण्डारणको व्यवस्था थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । यस विषयमा थप अनुसन्धान तथा आवश्यक कारबाही काठमाडौँ महानगरपालिकाले अघि बढाउने जनाइएको छ ।
त्यस्तै, भान्साको सरसफाइमा कमी रहेको गुनासोपछि संयोग ब्वाइज होस्टेलमा पनि अनुगमन गरिएको थियो । अनुगमनका क्रममा भान्साको सरसफाइ सामान्य रहे पनि कीट नियन्त्रणको व्यवस्था सन्तोषजनक नभएको विभागले जनाएको छ ।
होस्टेलको भान्सामा निकासाको व्यवस्था राम्रो नभएको, व्यक्तिगत सरसफाइमा कमी रहेको तथा भुइँ र भित्ताको सरसफाइसमेत राम्रोसँग नभएको पाइएको विभागले जनाएको छ ।
विभागले भान्साको सरसफाइमा विशेष ध्यान दिन, कीट नियन्त्रणलाई थप प्रभावकारी बनाउन, निकासाको उचित व्यवस्था गर्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ । यस्तै, भान्साको भुइँ र भित्तामा रंगरोगन गरी नियमित रूपमा सफाइ गर्न पनि निर्देशन दिइएको छ ।