
काठमाडौँ । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले दसैँ, तिहार, छठ लगायतका चाडपर्व र राजमार्ग सुचारु नहुँदासम्म सस्तो दरको भाडा नै कायम राख्ने भएको छ । शुक्रबार बुद्ध एयरले एक विज्ञप्ति जारी गर्दै दसैँ तिहार लगायतका चाडपर्वमा सस्तो भाडा नै कायम रहने जनाएको हो ।
शुक्रबार बुद्ध एयरले आफ्नो नयाँ सिरिजको एटीआर ७२-६०० जहाजबाट व्यावसायिक उडान सुरु गर्दै यस्तो बताएको हो । बुद्धले शुक्रबार बिहान नाइन एन एओएस कलसाइन भएको एटीआर ६०० जहाजले काठमाडौंबाट नेपालगन्जका लागि पहिलो व्यावसायिक उडान भरेको थियो । ६६ जना यात्रुसहित जहाज बिहान ८ बजेर ६ मिनेटमा काठमाडौंबाट नेपालगन्जका लागि उडेको थियो ।
बुद्ध एयरले गत जुलाई २५ मा फ्रान्सको तुलुसबाट नेपाल भित्राएको थियो । त्यसपछि आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरी रंगरंगोन समेत गरेर शुक्रबारबाट व्यावसायिक उडान सुरु गरेको हो ।

बुद्धले भित्राएको एटीआर ७२-६०० सिरिजको जहाजको उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणालीले सुसज्जित रहेको छ ।
क्षेत्रीय उडानका लागि प्रयोग हुने यस सिरिजका जहाजले तुलनात्मक रूपमा कम इन्धन खपत गर्ने भएकाले यसलाई वातावरणमैत्री समेत मानिन्छ । जहाजमा आरएनपी एआर नेभिगेशन प्रणालीसमेत जडान गरिएको छ, जसले आवश्यक मापदण्ड र प्रक्रियाअन्तर्गत कम भिजिबिलिटीको अवस्थामा पनि उडान तथा अवतरणलाई थप सहज बनाउनेछ ।
यस जहाजमा यात्रुको सिट, ओभरहेडबिन पहिलेको सिरिजभन्दा ठुलो रहेको छ । जहाजभित्रको बनावट सुधारिएको हुँदा ध्वनि प्रदूषण पहिलाको सिरिजभन्दा कम हुने पनि बुद्धले विज्ञप्तिमार्फत जनाएको छ । बुद्धले केही समयभित्र थप एक थान एटीआर ७२-६०० सिरिजका जहाज भित्राउने बताएको छ ।
बुद्ध एयरसँग हाल १४ वटा एटिआर ७२-५०० सिरिज तथा एक वटा एटिआर ७२-६०० जहाज रहेको छ । बुद्ध एयरले हालसालै मात्रै फ्लाइट साइकल वा लाइफ पूरा गरेका दुई वटा एटीआर जहाजहरू उडानबाट बिदाइ गरेको थियो । त्यसै गरी लाइफ साइकल बाँकी रहेको भए पनि एउटा एटीआर ४२-३२० सिरिजको जहाज पनि युरोपस्थित जहाज कम्पनीलाई बिक्री गरेको थियो ।
देशभित्र दैनिक १४० उडान
बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढी उडान गरिरहेको कम्पनीले जनाएको छ । त्यसै गरी अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसीमा साताको ३ दिन र कोलकोतामा साताको ४ दिन उडान भरिरहेको छ । यसै गरी पोखराबाट भैरहवा तथा नेपालगन्जको क्षेत्रीय उडान समेत गरिरहेको छ ।
राजमार्ग सहज नहुँदासम्म सस्तो भाडा दर नै कायम : अध्यक्ष, बुद्ध एयर
यसैबिच बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले दसैँ, तिहार, छठजस्ता पर्वहरू र राजमार्ग सहज नहुँदासम्म सस्तो दरकै भाडामा जहाज उडाने बताएका छन् । बस्नेतले भदौ १० मा रसुवामा आएको भीषण बाढीका कारण राजमार्गलगायत सडक पूर्वाधारमा क्षति पुगेकाले यात्रुलाई सहज होस् भनेर सस्तो मूल्यकै टिकट विक्री गर्ने बताएका हुन् । बुद्धले सडक राजमार्ग पूर्णरुपमा सुचारु नहुँदासम्म र दसैँ, तिहार, छठ लगायतका पर्वमा सहज होस् भनेर अहिलेको सस्तो दरको टिकटलाई नै निरन्तरता दिने बताएका हुन् ।

बस्नेतले भने, ‘प्राकृतिक विपत्तिका कारण सडक आवागमनमा समस्या हुँदा हवाई सेतुमार्फत यात्रुलाई सहज आवागमनको विकल्प उपलब्ध गराउनु हाम्रो दायित्व हो’, त्यस कारण राजमार्ग सहज नहुँदासम्म न्यूनतम भाडा दरमै उडान सञ्चालन गर्ने निर्णय गरेका छौँ ।’
बस्नेतका अनुसार सस्तो भाडा दरमा उडान सञ्चालन गर्दा कम्पनीले आर्थिक भार बेहोर्नुपर्ने निश्चित छ । तर राष्ट्रलाई आवश्यकता परेको अवस्थामा यस्तो कदम चाल्नु पर्ने आफ्नो दायित्व भएको उनले बताए ।
बस्नेतले भने, ‘कुनै वर्ष घाटा होला, कुनै वर्ष नाफा होला । भोलिको बिहानी फेरि सुनौलो भइहाल्छ तर अहिलेको परिस्थितिमा हामी सबैले हृदयदेखि नै योगदान गर्नुपर्छ ।’
हवाई उडानको कूल सञ्चालन खर्चमा हवाई इन्धनको लगभग ३५ देखि ४० प्रतिशत खर्च हुने गरेको छ । पछिल्लो ७ महिनायता हवाई इन्धनको मूल्यवृद्धि लगभग शतप्रतिशत नै बढेको छ । हवाई इन्धनको मूल्य कम र स्थिर हुँदा एयरलाईन्सहरुले कम भाडा दरमै सेवा दिन सक्छन् ।
बुद्ध एयरका अनुसार फेब्रुअरी २०२६ मा हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रहेकामा अगस्त २०२६ मा प्रतिलिटर २४९ रुपैयाँ पुगेको छ । प्रतिशतमा हेर्दा यो करिब ९६ प्रतिशतले वृद्धि हो । तर सोही समयमा फेब्रुअरीमा कठमाडौं–भैरहवाको नियमित भाडा दर ५ हजार ७०० रुपैयाँ रहेकामा अहिले ६ हजार ५०० रुपैयाँ मात्रै रहेको बुद्धले बताएको छ ।
मौसम प्रतिकूलता तथा एयर ट्राफिकका कारण उडानमा केही ढिलाइ हुनसक्ने भए पनि यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन बुद्ध एयर प्रतिबद्ध रहेको समेत बस्नेतले बताए ।
राहत सामग्रीको निःशुल्क हवाई ढुवानी
यसैबिच बुद्ध एयरले विभिन्न जिल्लाबाट संकलित राहत सामग्री निःशुल्करुपमा ढुवानी गरिरहेको जनाएको छ । बुद्धले अहिलेसम्म ७ हजार ३ सय २२ किलो राहत सामाग्री निःशुल्करुपमा ढुवानी गरी सम्बन्धित अधिकारीलाई हस्तान्तरण गरिसकेको छ ।