वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने पाँच जना पक्राउ

दियोपोस्ट संवाददाता

रामेछाप । वृद्ध दम्पतीलाई घरमै बन्धक बनाएर गरगहना तथा नगद लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले सिन्धुलीको घ्याङलेक गाउँपालिका-२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका-२ का ३२ वर्षीय दीर्घराज मोक्तान र सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्यमा झापाको दमक नगरपालिका-७ का ४४ वर्षीय पिताम्बर तहतराज र धनकुटाको बेलाहारा गाउँपालिका-५ का ३८ वर्षीय गुणराज विश्वकर्मा छन् । प्रहरीका अनुसार उनीहरूले १८ भदौको राति करिब १२ बजे खाँडादेवी गाउँपालिका-२ मझुवा नेवारटोलमा ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छीमाया तामाङलाई घरमै बन्धक बनाएर डकैती गरेका थिए ।

वृद्ध दम्पतीको मुखमा प्लास्टिकको टेप लगाएर आँखामा पट्टी बाँध्नुका साथै ज्यान मार्ने धम्की दिई नगद तथा गरगहना लुटेर लगेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले बताए । प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद, मोबाइल, मोटरसाइकल, ज्याकेट, हाफ कट्टु, पुराना सिक्का, सुनजस्तो देखिने औँठी र बुद्धचित्तका २२ दाना बरामद गरेको छ ।

सुमन काठमाडौँस्थित एक निजी विद्यालयमा चालकका रूपमा कार्यरत रहेको खुलेको छ । उनको साथबाट २५ हजार रुपैयाँ नगद, मोबाइल र बा ७३ प ८७१२ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । बसका सहचालक रहेका दीर्घराजको साथबाट ५२ हजार २ सय रुपैयाँ नगद तथा डकैतीका क्रममा लगाएको भनिएको ज्याकेट र हाफ कट्टु बरामद भएको छ ।

त्यस्तै, इनड्राइभमा मोटरसाइकल चलाउने पशुपतिबाट मोटरसाइकल र ६ हजार ४ सय ६० रुपैयाँ नगद बरामद भएको छ । उनको लक्ष्मी सनराइज बैंक खातामा १ लाख ३१ हजार रुपैयाँ रहेकोसमेत प्रहरीले जनाएको छ ।

पशुपति यसअघि पनि विभिन्न चोरीका घटनामा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रामेछापकै महादेव मन्दिरको दानपेटिका फुटाएर चोरी गरेको तथा १ असार २०८३ मा सुन्दरी श्रेष्ठको करिब ३० किलोको खसी र ७ भदौमा रामबहादुर श्रेष्ठको १५ किलोको बोका चोरी गरेको घटनामा पनि उनको संलग्नता देखिएको प्रहरी निरीक्षक राउतले बताए ।

दीर्घराजविरुद्ध १४ पुस २०७८ मा रामेछापमै प्रहरीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलेको पाइएको छ । पशुपतिको समूह काठमाडौंमा सिक्री लुटपाटमा समेत संलग्न रहेको र प्रहरी वृत्त कालिमाटीमा त्यससम्बन्धी मुद्दा चलेको प्रहरीले जनाएको छ ।

त्यस्तै, गुणराजविरुद्ध प्रहरी वृत्त बौद्धबाट जुवा कसुरमा मुद्दा चलेको खुलेको छ । उनीहरूकै समूहले १८ भदौ २०८३ को बिहान करिब ६ बजे रामेछापको सुनापति गाउँपालिका-२ दिमीपोखरीमा ७५ वर्षीय इमानसिं तामाङको घरबाट ७८ हजार रुपैयाँ चोरी गरेकोसमेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस