भदौ २३ः जलेको सिंहदबारसंगै धुँवाभित्र हराएको राज्य

रीता बुढाथोकी

आज भदौ २३ ! अर्थात जेन-जी आन्दोलन दिवस । जेन-जी आन्दोलनको एक वर्ष बितिसकेको छ । एक वर्षको अवधिमा धेरै कुरा परिवर्तन भइसकेका छन् । समयले धेरै कुरा बदलिसकेको छ ।

अहिले सडकमा देखिएका धुवाँका मुस्ला हराइसकेका छन् । जलेका भवनहरू फेरि ठडिँदैछन् । सडकमा मानिसहरूको चहलपहल फर्किएको छ । तर मेरो आँखामा अझै पनि त्यो दिनका केही दृश्यहरू उस्तै ताजा छन्- रगतले भिजेको सडक, भागदौड गरिरहेका मानिस, गोलीको आवाज, अस्पतालका बेडमा छटपटाइरहेका कलिला युवाहरू, सिंहदरबारबाट निस्किएको कालो धुवाँ र मेरी छोरीले डराउँदै सोधेको प्रश्न-‘अब त हामी बाँच्यौँ नि?’

त्यो दिन जेनजी आन्दोलनका नाममा ७७ जना नागरिकले ज्यान गुमाएको कहालीलाग्दो दिन थियो । सामाजिक सञ्जाल बन्द, नेपोटिजम, भ्रष्टाचार र राजनीतिक अस्थिरताविरुद्ध जेनजी पुस्ताका युवाहरू आन्दोलनमा थिए ।

दिउँसो २ बज्दासम्म १९ जनाको मृत्यु भइसकेको खबर आयो । सयौँ घाइते भएको समाचार आइरहेको थियो । सिभिल अस्पतालमा घाइते राख्ने ठाउँसमेत अभाव भएको खबर सुनिन्थ्यो । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिको सडक रणमैदानमा परिणत भइसकेको थियो ।

जेजनी युवाहरुले भदौ २३ गते शान्तिपूर्ण प्रदर्शन गर्ने अनुमति लिइसकेका थिए । २३ गते आन्दोलन हुन्छ, युवाहरू नाराबाजी गर्छन्, सरकारको विरोध गर्छन्- यति थियो अनुमान । तर त्यो दिन यति ठूलो मानवीय र भौतिक क्षति होला भनेर सायद कसैले कल्पना गरेको थिएन ।

म आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तहकी विद्यार्थी थिएँ । भदौ २४ गते परीक्षा थियो । त्यसैले २३ गते कार्यालयबाट बिदा लिएर घरमै बसेकी थिएँ । बिहान सधैँझैँ छोरीलाई विद्यालय पठाएँ र परीक्षाको तयारीमा लागेँ ।

पढाइमै व्यस्त थिएँ । मोबाइलमा खासै ध्यान गएको थिएन । एकछिनपछि मोबाइलको घण्टी बज्यो । दियोपोष्टका प्रधानसम्पादक सुदीपको फोन रहेछ । ‘बानेश्वरमा गोली चल्यो रे। तपाईं कहाँ हुनुहुन्छरु’ सुदिपको त्यो वाक्यले मेरो हातखुट्टा चिसो भए ।

हतारहतार फेसबुक खोलेँ । स्क्रिनभरि मानिस ढलेका दृश्य थिए । कतै नाराबाजी भइरहेको थियो । कतै गोली चलेको दृश्य । कतै रगतले भिजेको सडक । मानिसहरूको भीड । भागदौड । ओहो ! त्यो दृश्य हेर्न सकिने खालको थिएन । म आत्तिएँ ।

त्यसो त,आन्दोलनको तयारी अघिल्लो दिनदेखि नै भइरहेको थियो । शान्तिपूर्ण भनिएकाले खासै समस्या नहोला भन्ने लागेको थियो । तर एक्कासि गोली चल्यो । मान्छे मारिए । त्यसपछि मेरो मनमा एउटै कुरा घुमिरह्यो-मेरी छोरी । छोरी विद्यालयमा थिईन। बनेश्वर हुँदै घर फर्किनु पर्थ्यो ।

दिउँसो बानेश्वरमा भएको रक्तपात र त्यसपछि सिर्जित अवस्था भयावह थियो । बच्चाहरु सकुशल घर फर्किने हुन् कि होइनन् भन्ने सुर्ताले म जस्ता धेरै अभिभावकलाई पिरोलेको थियो ।

‘अब छोरी कसरी घर आउँछिन्?’ म घरभित्रै छटपटाउन थालेँ । बाहिर निस्कन सक्ने अवस्था थिएन । सडकमा मानिसहरूको हुल थियो । नाराबाजी चर्किरहेको थियो । सरकारविरुद्ध आक्रोश पोखिइरहेको थियो । सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइएको अंकुशले मानिसहरूको आक्रोशलाई अझ गहिरो बनाएको थियो ।

मैले विद्यालयमा फोन गरेँ । ‘बच्चाहरू सबै सुरक्षित छन्, चिन्ता नगर्नुस् ।’ तर आमाको मनलाई यति मात्रै जवाफले कहाँ शान्त पार्थ्यो र?

दिनभरी समाचार हेरिरहेँ । दिउँसो २ बज्दासम्म १९ जनाको मृत्यु भइसकेको खबर आयो । सयौँ घाइते भएको समाचार आइरहेको थियो । सिभिल अस्पतालमा घाइते राख्ने ठाउँसमेत अभाव भएको खबर सुनिन्थ्यो । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिको सडक रणमैदानमा परिणत भइसकेको थियो ।

यी कलिला युवाहरू कसका छोराछोरी होलान? कोही त उच्च शिक्षा अध्ययनका लागि विभिन्न जिल्लाबाट काठमाडौँ आएका विद्यार्थीहरू पनि थिए । उनीहरू परिवर्तनको सपना बोकेर सडकमा आएका थिए । आन्दोलनमा घुसपैठ भएको भनियो । हुन सक्छ, तर निहत्था युवामाथि गोली प्रहारको विषय सामान्य थिएन ।

गोली कसले चलायो? एक वर्षपछि पनि यो प्रश्न मेरो मनमा उस्तै छ ।

साँझ पर्न थाल्यो । करिब ६ बजेपछि विद्यालयको बस आयो । चारैतिर अवरोध भएकाले भित्री बाटो प्रयोग गरेर बस चलाउनु परेको चालकले सुनाए । छोरी सकुशल घर फर्केपछि मात्रै मेरो मन शान्त भयो ।

तर मनमा भने गहिरो पीडाले डेरा जमाइरहेको थियो । दिउँसो बानेश्वरको संसद भवन अगाडी ढलेका ती कलिला अनुहारहरू कसका होलान?  उनीहरूका आमाबुवामा के बितिरहेको होला? कसैले छोराको फोन कुरिरहेको होलान् । कसैले छोरी घर आइपुग्ने बाटो हेरिरहेको होलान् । कसैले अस्पतालको गेटमा उभिएर आफ्नो सन्तान खोजिरहेको होलान् । आफ्ना सन्तानको प्रतिक्षामा रहेका आमाबुवाको अवस्था सम्झेर मन कुडिँयो । त्यो सोच्दा अहिले पनि मन भक्कानिन्छ ।

साँझ खाना खान मन लागेन । राति अबेरसम्म निद्रा लागेन । बेचैनी र छटपटीमै रात बित्यो । भदौ २४ गतेको मेरो परीक्षा स्थगित भयो । विद्यालयहरू बन्द भए ।

तर पत्रकारका लागि संकटको दिनमा बिदा हुँदैन । भदौ २४ गते म कार्यालय जानैपर्ने भयो । छोरीलाई पनि साथमै लिएर म कार्यालयका लागि निस्के ।
। सधैँ १५ मिनेटमा पुगिने कार्यालय पुग्न त्यस दिन दुई घण्टा लाग्यो । बानेश्वर पुग्दा बिहानको ९ बजिसकेको थियो ।

अघिल्लो दिनको घटनाको बिरोधमा संसद् भवन बाहिर युवाहरू आक्रोशित थिए । कार्यालय जाने बाटोमै सिभिल अस्पताल पर्थ्यो । अघिल्लो दिन गोली लागेका लागेर घाइते भएकाहरु त्यहीँ थिए । उनीहरूलाई नभेटी कार्यालय जान मन लागेन ।

अस्पतालको गेटमा कडाइ थियो । मैले परिचयपत्र देखाएर भित्र प्रवेश गरेँ । अस्पतालभित्र देखेको दृश्यले फेरि मुटु चिसो भयो । दर्जनौँ घाइतेहरू छटपटाइरहेका थिए । कसैको पेटमा गोली लागेको थियो । कसैको खुट्टामा। कसैको पाखुरामा ।

उनीहरू सबैको अनुहारमा पीडा थियो । भविष्यप्रतिको चिन्ता प्रष्ट देखिन्थ्यो । त्यहाँ सुशीला कार्की पनि घाइतेहरूलाई भेट्न पुगेकी थिइन् । घाइते युवाहरूको अवस्था देखेपछि उनले आफूलाई थाम्न सकिनन् । उनका आँखामा आँसु थिए ।

मैले घाइतेहरूको हालखबर सोधेँ । उनीहरुलाई फलफूल बाँडेँ र अस्पतालबाट बाहिरिएँ । तर अस्पतालबाट बाहिर निस्कँदा वातावरण झनै तनावपूर्ण भइसकेको थियो । सिभिल अस्पताल र संसद् भवन आसपास सयौँ युवा आक्रोशित थिए । नाराबाजी चर्किरहेको थियो ।

‘हाम्रा साथीहरू खोइरु’ उनीहरूको प्रश्न सडकमा गुन्जिरहेको थियो । आक्रोशित भीड बढ्दै गयो । तोडफोड सुरु भयो । प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो । तर युवाहरू पछि हटेनन् ।

म छोरीलाई साथमै लिएर हिँडिरहेकी थिएँ । एकातिर पत्रकारको जिम्मेवारी थियो । अर्कोतिर आमाको डर । अन्ततः छोरीको सुरक्षालाई प्राथमिकता दिएँ । त्यसपछि भित्री बाटो हुँदै म अनामनगरस्थित कार्यालय पुगेँ ।

तर म कार्यालय पुग्न नपाउँदै एकपछि अर्को भयावह खबर आउन थाल्यो । नेताका घर जलाइए । एकछिन अघि बानेश्वरमा नाराबाजी गर्ने हुलले संसद् भवन जलाइसकेछ । हिल्टन होटलमा आगो लाग्यो । प्रहरी चौकीहरू जलाइए । सर्वोच्च अदालत जलाइयो ।

यता, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीमाथि कुटपिट भएको र उनीहरूको घरमा समेत आगजनी भएको खबर आयो । म स्तब्ध थिएँ ।

त्यसपछि कार्यालयको छतमा गएँ । दृश्य अझ भयावह थियो । सिंहदरबारको पूर्वी गेटबाट मानिसहरूको ठूलो समूह भित्र पसिरहेको थियो । म क्यामेरा बोकेर त्यतैतिर लागेँ ।

अनामनगरको सडक मानिसले भरिएको थियो । ‘केपी ओली मुर्दावाद’ का नारा गुन्जिरहेका थिए । सिंहदरबारबाट कालो धुवाँको मुस्लो निस्किरहेको थियो ।आन्दोलनकारीहरू विभिन्न मन्त्रालयमा प्रवेश गरेर आगो लगाइसकेका रहेछन् । कोही सिंहदरबारभित्र रहेका गाडीहरू तोडफोड गरिरहेका थिए ।

त्यही भीडको एउटा समूह नेपाल टेलिभिजनतर्फ अघि बढिरहेको थियो । उनीहरूको काँधमा चन्द्रसूर्य अंकित नेपालको झण्डा थियो । हातमा बञ्चरो, रड र खुकुरी थिए ।

राष्ट्रिय भण्डा ओडेर सिंहदबरबार जलाउनेलाई नेपाली सेनाले छुट दिएको देखेर निकै दया लाग्यो । एक जना सिपाहीलाई मैले भनेकी पनि थिए, ‘सिंहदबरबार जलाउनबाट रोक्नुस ।’ तर ती सैनिकले ‘हामीलाई आदेश छैन,’ भन्दै पन्छिए । देश बचाउने कसम खाएर आएका ‘राष्ट्रका पहरेदार’ भनिने नेपाली सेना मुकदर्शक भएको देखेर निकै नमज्जा लाग्यो ।

भिड कुनै पनि हालतमा नेपाल टेलिभिजन जलाउने भन्दै गेट खोल्न खोजिरहेका थिए । गेटभित्र नेपाल टेलिभिजनका केही कर्मचारी उभिएका थिए । टेलिभिजनका नीता सापकोटा, आरती चटौत, नवराज दाहाललगायतले आन्दोलनकारीलाई रोक्ने प्रयास गरिरहेका थिए ।

आरती चटौतका आँखाभरि आँसु थिए । निकै शान्त मुद्रामा उनले आन्दोलनकारीलाई रोक्ने प्रयास गर्दै थिइन् । उनले आन्दोलनकारीलाई सम्झाइरहेकी थिइन् ।

‘नेपाल टेलिभिजन राष्ट्रको सञ्चार हो । यो संस्था जल्नु भनेको नेपालको सञ्चारको इतिहास मेटिनु हो । कृपया यस्तो काम नगर्नुस् । बरु मलाई मार्नुस्, टेलिभिजनलाई केही नगर्नुस् । म पनि तपाईंजस्तै परिवर्तनको पक्षधर हुँ। तपाईंहरूलाई भोलि पनि यो संस्था चाहिन्छ ।’ आन्दोलनकारीलाई हात जोडेर आरती बोलिरहेकी थिइन् ।

आँखा रसाएका थिए । त्यो क्षणमा मलाई लाग्यो-संस्था भनेको भवन मात्रै होइन रहेछ । त्यससँगको भावना, इतिहास र पुस्तौँको श्रम जोडिएको हुँदोरहेछ ।

मैले पनि आन्दोलनकारीलाई सम्झाएँ । हामी सबैको प्रयासले नेपाल टेलिभिजन जोगियो । तर सिंहदरबार र धेरै सरकारी संरचना जोगिएनन् । करोडौँ रुपैयाँ लगानीमा बनेका भवनहरू केही घण्टामै खरानी बने ।

त्यसबेला मलाई लाग्यो, शायद अन्य मन्त्रालयका कर्मचारीहरु पनि त्यसै गरि आफ्नो संस्था जोगाउन लागिपरेको भए धेरै भवनहरु नजल्ने रहेछन् । त्यो दिन मैले आफ्नै आँखाअगाडि सिंहदरबार जलिरहेको देखेँ । चारैतिर धुवाँ थियो । कालो धुवाँ । धुवाँभित्र हराइरहेको एउटा राज्यको चित्र ।

भदौ २४ गते दिनभर आन्दोलनकारीहरू भौतिक संरचना तोडफोड र आगजनीमा उत्रिए । सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवनलगायत दर्जनौँ संस्था जले । म भने क्यामेरा बोकेर त्यही धुवाँभित्र हिँडिरहेँ ।

साँझ पर्दै गयो । सवारीसाधन चल्न छाडिसकेका थिए । प्रशासनले कर्फ्यु जारी गरिसकेको थियो । कार्यालयमा छोरीलाई एक्लै छोडेर म रिपोर्टिङमा थिएँ । दिनभरि छोरीले केही खान पाएकी थिइनन् । मैले पनि पानीसम्म पिउन भ्याएकी थिइनँ ।

रिपोर्टिङ सकेर साँझ कार्यालय फर्किएँ । ऐनामा आफूलाई हेर्दा आफैँलाई चिन्न सकिनँ । अनुहार धुवाँको कालोले ढाकिएको थियो । लुगा कालो भएका थिए । नाकबाट समेत कालो धुलो मिसिएको सिँगान बगिरहेको थियो ।

एक वर्ष बित्यो । तर त्यो दिन मेरो स्मृतिबाट हटेको छैन । म आज पनि भदौ २३ सम्झिँदा पहिले छोरीको अनुहार देख्छु । गोलीको आवाज सुन्दा अस्पतालका ती घाइते युवाहरू सम्झिन्छु । कालो धुवाँ देख्दा सिंहदरबार सम्झिन्छु ।

आक्रोशित भीड देख्दा नेपाल टेलिभिजनको गेटमा हात जोडेर उभिएकी आरती चटौत सम्झिन्छु । र हरेकपटक एउटै प्रश्न मनमा आउँछ-परिवर्तन खोज्दै सडकमा निस्किएका ती युवाहरूको जीवनको मुल्य कहाँ चुक्यो ?

भोक । थकान । डर र आँखाअगाडि दिनभरि देखेका दृश्यहरू । घर गएर थकाइ मारौँ भन्ने चाहना थियो । तर घर जान सक्ने अवस्था थिएन । साँझ परेपछि कर्फ्यु जारी गरिएको थियो ।

सडकमा सवारीसाधन थिएनन् । हामी आमाछोरी कार्यालयमै बन्धक भयौँ । त्यो रात हामीले कार्यालयको सोफामा भोकै र प्यासै रात बितायौँ । बाहिर सिंहदरबार जलिरहेको थियो । रातभरि जलेको सिंहदरबारबाट बम पड्किएजस्ता आवाजहरू आइरहेका थिए । हरेक ठूलो आवाजमा छोरी झस्किन्थिन् । ‘म छु नि,’भन्दै मैले उनलाई अँगालो हाल्थेँ र ढाडस दिन्थेँ ।

सिंहदरबारबाट उठेको धुवाँ आकाशतिर फैलिरहेको थियो । जलेको संरचनाको खारिलो गन्धले सास फेर्नसमेत गाह्रो भइरहेको थियो । त्यो रात निकै लामो लाग्यो ।
यति लामो कि एक रात होइन, एक महिना जस्तो लाग्यो । भोको र अनिदो रात ।

बिहान भयो । तर बाहिर कर्फ्यु उस्तै थियो । अघिल्लो बिहानदेखि घर छाडेका हामी आमा छोरी कसरी घर पुग्ने भन्नेमा थियौँ । जे त पर्ला भनेर हामी कार्यालयबाट निस्कियौँ ।

सडकमा नेपाली सेना तैनाथ थियो । हुलका हुल सैनिक गाडीहरू गुडिरहेका थिए । मानिसहरू सडकमा देखिँदैनथे । काठमाडौँको परिचित शहर एकाएक अपरिचित जस्तै बनेको थियो । यस्तो लाग्थ्यो-शहर मौन छ र शहर सैनिकको कब्जामा छ।

बाटोमा नेपाली सेनाले ठाउँठाउँमा रोके र हाम्रो झोला जाँच गरे । हामी हिँडिरह्यौँ । ‘२४ गते दिउँसो यसैगरि सैनिक सडकमा आइदिएको भए शायद देशले यति ठुलो क्षति ब्यहोर्नु पर्दैनथ्यो होला,’ मैले मनमनै सोँचे ।

हामी धेरै परसम्म हिड्यौँ । गन्तव्यमा पुग्न किनै बाँकी थियो । भोक र थकाइले छोरी हिड्न नसक्ने भइन् । त्यसै क्रममा नाइट ड्युटी सकेर घर फर्किरहेका वीर अस्पतालका एक स्वास्थ्यकर्मी भेटिए । उनैसँग लिफ्ट मागेर अन्ततः हामी घर पुग्यौँ ।

घरको ढोका छिर्नासाथ छोरीले लामो सास फेरिन् । उनले भनिन्-‘अब त हामी बाँच्यौँ ।’

छोरीको त्यो वाक्यले मलाई आजसम्म झस्काईरहन्छ । एक वर्ष बित्यो । तर त्यो दिन मेरो स्मृतिबाट हटेको छैन । म आज पनि भदौ २३ सम्झिँदा पहिले छोरीको अनुहार देख्छु । गोलीको आवाज सुन्दा अस्पतालका ती घाइते युवाहरू सम्झिन्छु । कालो धुवाँ देख्दा सिंहदरबार सम्झिन्छु । आक्रोशित भीड देख्दा नेपाल टेलिभिजनको गेटमा हात जोडेर उभिएकी आरती चटौत सम्झिन्छु । र हरेकपटक एउटै प्रश्न मनमा आउँछ-परिवर्तन खोज्दै सडकमा निस्किएका ती युवाहरूको जीवनको मुल्य कहाँ चुक्यो ?

गोली चलाउने हातहरू कसका थिए? जिम्मेवार को थियो?र सबैभन्दा ठूलो प्रश्न-त्यो दिन ज्यान गुमाएका परिवारले न्याय पाए कि पाएनन् ?

समयले घाउमा खाटा बसाउँदै जान्छ । तर केही दृश्यहरू समयले मेटाउन सक्दैन । भदौ २३ मेरो लागि त्यस्तै एउटा दृश्य हो । त्यो दिन मैले पत्रकार भएर इतिहासलाई क्यामेरामा कैद गरेँ । आमा भएर डरलाई मनभित्र कैद गरेँ । र एक नागरिक भएर एउटा प्रश्नलाई आफूभित्र कैद गरेँ- राज्यसँग प्रश्न गर्ने युवाको आवाज सुन्न नसक्ने राज्यले अन्ततः कसको भविष्य जोगाउँछ? एक वर्षपछि पनि त्यो प्रश्नको उत्तर खोजिरहेकी छु ।

सायद त्यसैले भदौ २३ मेरो लागि केवल एउटा आन्दोलनको मिति होइन । यो त्यो दिन हो, जुन दिन मैले आफ्नै आँखाअगाडि एउटा शहर जलिरहेको देखेँ-र आफ्नै छोरीलाई अँगालेर आफू पनि कति असुरक्षित रहेछु भन्ने पहिलोपटक महसुस गरेँ ।