
काठमाडौँ । एनभीएलको टिकट बिक्रीबाट संकलित रकम ५ लाख ९० हजार १ सय ५० रुपैयाँ बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
केडिया ग्रुपको आयोजना भइरहेको एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो दिनको टिकट बिक्रीबाट संकलन भएको सम्पूर्ण रकम कोषमा जम्मा गरिएको हो ।
नेपाल भलिबल लिग सुरु हुन अघि नै आयोजकले एनभीएलको पहिलो दिन भदौ १९ गते हुने खेलका लागि टिकट बिक्रीबाट संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ प्रतिबद्धता जनाएको थियो ।
सोही प्रतिबद्धता अनुसार ग्रुपका अध्यक्ष विमलकुमार केडियाले उक्त रकम बराबरको चेक अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेलाई सिंहदरबार हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडिया, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा.सन्तोष उपाध्याय र नेपाल भलिबल लिग सीओओ विकास खेतानको पनि उपस्थिति रहेको थियो ।